काठमाडौं । राष्ट्रिय क्रिकेटर करण केसीले हिजो लेखेको विवादित स्टाटसलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो औपचारिक निर्णय सार्वजनिक गर्ने भएको छ । करणले प्रधानमन्त्री कपमा आजको म्याच खेलेका छैनन् ।
करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।
यो विषयलाई क्यानले पनि गम्भीररूपमा लिएको बुझिएको छ । क्यान उच्च स्रोतका अनुसार करणलाई आजको म्याच नखेल्न भनिएको थियो । त्यही बमोजिम करणले मधेश प्रदेशविरुद्धको आजको म्याच नखेलेका हुन् । करणले प्रधानमन्त्री कपमा नेपाल पुलिसको टीमबाट खेल्दै आएका छन् ।
केहीबेरमै क्यानको औपचारिक विज्ञप्ति आउने स्रोतले बतायो ।
करणले हिजै उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन् । तर, अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्रै नपुग्ने बताए ।
उनले भने, ‘यो गम्भीर विषय हो, क्षमायाचनाले मात्रै पुग्दैन । क्यानले आवश्यक कारबाही गर्छ भन्ने विश्वास छ ।’







































