काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ ।
पाकिस्तानको इस्लामावादमा भएको २१ भन्दा बढी लामो वार्ता निष्कर्षमा नपुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन् । भान्सले इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गरेको र आफु अब स्वदेश फर्किने बताएका छन् ।
उनले भने- ‘हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले इरानीहरूसँग धेरै ठोस छलफल गरेका छौं । त्यो राम्रो खबर हो । नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं । र मलाई लाग्छ कि यो संयुक्त राज्य अमेरिकाको लागि नराम्रो खबर भन्दा धेरै इरानको लागि नराम्रो खबर हो । त्यसैले हामी सम्झौतामा नपुगेर संयुक्त राज्य अमेरिका फर्कन्छौं ।’
उनले आफुहरु निकै लचक भएर प्रस्तुत भएपनि इरानले अमेरिकाका प्रस्ताव अस्वीकार गरेकोले आफुहरु फर्किन लागेको छ । उनले यो आफुहरुले इरानलाई अन्तिम अवसर दिएर इस्लामावादबाट निस्किन लागेको बताएका छन् ।
बैठकमा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनी विषयमा विशेषज्ञस्तरमा छलफल भएको बताइएको छ । अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताबारे प्रतिक्रिया दिँदै सम्झौता भए पनि नभए पनि अमेरिका विजयी हुने दाबी गरेका छन् । उनले दुवै देशबीच गहिरो स्तरमा वार्ता भइरहेको र चाँडै नतिजा आउने बताएका छन्।
ट्रम्पले अमेरिकाले इरानलाई सैनिक रूपमा कमजोर बनाएको दाबी गर्दै होर्मुज जलडमरु क्षेत्रमा सफाइ अभियान सञ्चालन भइरहेको र त्यहाँ राखिएका बारुदी सामग्री हटाइँदै गरेको जानकारी दिएका छन्।
साथै उनले चीनलाई पनि चेतावनी दिँदै इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । यस अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ ।






































