काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले बताए।
‘१०/११ बजेतिर हाम्रो संसदीय दलको बैठक बस्छ। त्यही बैठकले सरकार गठनबारे निर्णय लिन्छ होला,’ उनले भने।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।
जसपा सांसद प्रदीप यादवले आफूहरूलाई बैठकबारे खबर नआएको बताए।
ठाकुर-महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ। उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ।
यसअघि ठाकु र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।
‘उहाँहरूबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको छ। यसको नाम जे राखिए पनि त्यो संविधान संशोधनकै लागि हो,’ ठाकुरनिकट जसपा नेता सुरेन्द्र झाले भने,’कार्यदलको घोषणा आज हुन्छ होला। उहाँहरूबीच जे-जस्ता सहमति भएका छन् ती सबै आज सार्वजनिक हन्छन्।’
यो विषयमा सहमति भए ठाकुर-महतोले उठाउँदै आएका माग सम्बोधन हुन्छन्। यस्तो अवस्थामा ओली नेतृत्वको सरकारमा जाने घोषणा यसअघि नै ठाकुर-महतो पक्षले गरिसकेको छ। आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।







































