वि.सं.२०८३ वैशाख २० आइतवार

११ दिन देखिको रकेट हानाहानपछि थामिए इजरायल र हमास, सडकमा देखियो खुसीको लहर

khanepani

एजेन्सी । ११ दिनपछि इजरायल र गाजापट्टीको आकाशमा रकेट ओहोरदोहोर हुने क्रम रोकिएको छ।

इजिप्टको मध्यस्थतामा इजरायल र गाजालाई नियन्त्रणमा लिएको विद्रोही सैन्य समूह हमास शुक्रबारदेखि युद्धविराम गर्न सहमत भएका हुन्।

युद्धविरामको घोषणा भएपछि ११ दिनदेखि इजरायलका रकेटले त्रसित भएका प्यालेस्टाइनीहरू गाजाको सडकमा निस्किएका थिए।

युद्धविराम सुरू हुनै लाग्दैसम्म पनि दुबै तिरबाट रकेट हानाहान भइरहेको थियो। दुबै पक्षले युद्धविराम उल्लंघन भए आफू जवाफी प्रतिरोधका लागि तयार रहेको चेतावनी दिएका छन्। युद्धविरामको मध्यस्थता गरेको कायरोले युद्धविराम पालना भएरनभएको हेर्न दुई टोली पठाउने बताएको छ।

मे १० मा पछिल्लो तनाव सुरू भएको थियो। सन् १९६७ मा अरब-इजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने ‘जेरूसेलम डेुमा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन्। तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो।

शेख जराहमा रहेका प्यालेस्टाइनीहरूलाई त्यहाँबाट निकालेर उनीहरूका घर यहुदीहरूलाई दिन मिल्छ कि मिल्दैन भन्नेबारेमा अदालतमा विचारधीन मुद्दाको फैसला सरेपछि प्यालेस्टाइनीहरूमा आक्रोश बढेको थियो।

गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले अल अक्सा मस्जिद र शेख जराहबाट इजरायली सैनिक फिर्ता गर्न अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटम सकिएको केही मिनेटमै हमासले इजरायलमाथि रकेट हानेको थियो।

त्यसपछि इजरायल र गाजाको आकाशमा रकेटको लर्को देखिएको थियो। यो ११ दिनमा गाजामा ६५ बालबालिकासहित २३२ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सयभन्दा बढी घाइते भएका छन्। तीमध्ये १६० जना विद्रोही रहेको इजरायलको दाबी छ।

इजरायलका अधिकारीहरूले भने हमासको आक्रमणमा परी १२ जनाको मृत्यु भएको र सयौं घाइतेलाई उपचार गरिएको जनाएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टीको पुनर्निर्माणमा लागि आफ्नो प्रशासनले सघाउने बताएका छन्। सुरूदेखि नै दुबै पक्षलाई तनाव कम गर्न भनिरहेका बाइडेनले बिहीबार टेलिभिजन सम्बोधनमार्फत् दुबैतर्फ ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली र उनीहरूका परिवारमा समवेदना व्यक्त गरेका छन्।

उनले गाजामा मानवीय सहायता उपलब्ध गराउन र यसको पुनर्निर्माण गर्न अमेरिकाले संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गर्ने बताएका छन्।

ranechhap