वि.सं.२०८३ वैशाख ७ सोमवार

उपसभामुखको निर्वाचन प्रक्रिया सुरु, रास्वपाको ‘ग्रिन सिङ्नल’को पर्खाइमा साना दलहरू

khanepani

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि चैत २७ गतेको मिति तोक्दै संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए ।

सभामुख अर्यालको त्यो निर्देशनसँग सचिव राईले सूचना प्रकाशित गरेपछि उपसभामुख चयन गर्ने प्रक्रिया सुरु भएको हो । सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अर्याल निर्विरोध निर्वाचित भएका थिए । संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र फरक–फरक हुनुपर्ने व्यवस्था भएकाले कसले पाउने हो भन्ने निश्चित छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यस अनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।

रास्वपा एकल बहुमतमा रहेकाले उसले जसलाई समर्थन गर्छ, त्यही उपसभामुख हुनेछ । उपसभामुखमा एमाले बाहेकका दलले दाबी गरेका छन् । तर, रास्वपाले कुनै पनि दललाई ‘ग्रिन सिङ्नल’ दिएको छैन । रास्वपा नेताहरू दलहरूसँग छलफल जारी रहेको तर निष्कर्ष निस्किनसकेको जानकारी दिए ।

ranechhap