काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफुहरु जनताप्रति जवाफदेही भएर काम गर्ने बताएका छन् ।
रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा जवाफदेही हुने र कुनै पनि नराम्रा काम नगर्ने बताएका हुन् ।
उनले राजनीतिको मूल नीति सफा भएको भन्दै निष्कलंकित भएर पाँच वर्ष पछाडि आफूले गरेको काम फर्किएर हेर्दा गर्व गर्ने गरि काम गर्ने धारणा राखे ।
मन्त्री तिमिल्सिनाले देश र जनताका लागि गर्नुपर्ने धेरै काम रहेकाले परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने चिन्ता रहेको बताए। उनले सार्वजनिक निकायमा हावी भएको नकारात्मकतालाई सुधार गर्दै उनीहरुलाई देश बनाउने अभियानमा अघि बढाउनुपर्नेमा जोड दिए ।
देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने उल्लेख गर्दै उनले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको धारणा राखे । उनले सबै जना इमान्दार र जिम्मेवार भएमा संस्था मात्र नभइ देश पनि सुन्दर बन्ने बताए ।









































