काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सानदार जितपछि नेपालको प्रधानमन्त्री बनेका बालेन्द्र (बालेन) शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बधाई दिएका छन्। शरिफले आफ्नो सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै नयाँ प्रधानमन्त्री बालेनलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै पाकिस्तानी प्रधानमन्त्री शरिफले चुनावमा रास्वपाले हासिल गरेको ऐतिहासिक र भारी जितको चर्चा गरेका छन्। चुनावमा सानदार जित निकालेर सरकारको नेतृत्व सम्हालेका बालेनलाई उनले पाकिस्तानी सरकार र जनताको तर्फबाट बधाई ज्ञापन गरे।
सन्देशमा उनले पाकिस्तानले नेपालसँगको आफ्नो वर्षौँ पुरानो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिने कुरा स्पष्ट पारेका छन्। आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन आफू नयाँ प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्न आतुर रहेको शरिफले बताए।
उनले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सहकार्यलाई अझै विस्तार गर्दै आपसी हितका क्षेत्रमा सँगै अघि बढ्ने प्रतिबद्धतासमेत जनाए। यसका साथै, क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्यहरू प्राप्त गर्नका लागि बालेनको नेतृत्वमा रहेको नेपाल सरकारसँग मिलेर अघि बढ्ने शरिफको भनाइ छ।
दक्षिण एसियाली क्षेत्रमा शान्ति र विकास कायम गर्न दुवै देशका साझा एजेन्डा रहेको र त्यसलाई सार्थक बनाउन नयाँ नेतृत्वसँगको सहकार्य फलदायी हुने विश्वास उनले व्यक्त गरे।





































