कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश नीति तथा योजना आयोगलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन निर्देशन दिएका छन्।
आयोगको अर्धवार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सरकारका कामहरू खर्चमुखी मात्र नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका परिणाममुखी हुनुपर्नेमा जोड दिएका थिए ।
‘हामीले बजेट खर्च गर्नेमात्र होइन, त्यसबाट प्राप्त उपलब्धि र प्रभाव देखिने गरी काम गर्नुपर्छ,’ उनले भने।
गोष्ठीमा मुख्यमन्त्रीसहित मन्त्री, राज्यमन्त्री, आयोगका उपाध्यक्ष तथा सदस्य , मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रालयगत रूपमा सचिवहरूले पछिल्लो ६ महिनाको प्रगति, बजेट कार्यान्वयनको अवस्था, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।
मुख्यमन्त्री शाहले प्रस्तुत प्रगति विवरण अपेक्षा अनुसार सन्तोषजनक नभएको उल्लेख गर्दै कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिए। उनले समयमै योजना कार्यान्वयन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिँदै सुदृढ र प्रभावकारी शासन प्रणाली निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्ने बताए।
उनले विकास निर्माणका कामहरू ढिलासुस्ती बिना सम्पन्न गर्न र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।









































