वि.सं.२०८३ वैशाख ३ बिहीवार

राप्ती प्रतिष्ठानमा अस्पतालको ठेक्का लगाउन नसकिएको अर्थमन्त्रीको स्वीकार, ८८ करोड फ्रिजको जोखिम

khanepani

रूपन्देही । आजदेखि बिदामा बसेका अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय सैया अस्पतालको ठेक्का लगाउन नसकिएको बताएका छन् ।

अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट आज जारी कार्यकाल समाप्ति प्रतिवेदनमा उनले हुँदै गरेका वा सम्पन्न गर्न नसकिएका कामहरूको जानकारी गराउने क्रममा उक्त आयोजनाबारे उल्लेख गरेका छन् ।

प्रतिष्ठानमा चालू आवमा विनियोजित रकम भन्दा धेरै बढीको ठेक्का लगाउनुपर्ने, तर बहुवर्षीय स्रोतको सहमति नभएकोले ठेक्का लगाउन नसकिएको कारण देखाएका छन् । उनले चालू वर्षको बजेट पनि खर्च हुन नसक्ने स्थिति देखाएका छन् । यसका लागि कुनै निकास निकाल्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

बहुवर्षीय आयोजनामा स्रोत सहमति नभए प्रतिष्ठानको ४ सय शय्या अस्पताल भवन अलपत्र पर्नेछ । अस्पताल भवनको लागि आएको ८८ करोड रकम फ्रिज हुने जोखिम छ । स्वास्थ्य र शिक्षाको प्रमुख केन्द्रको रुपमा रहेको प्रतिष्ठानमा भवनको अभावमा नयाँ सेवा बिस्तार गर्न समस्या भइरहेको छ ।

प्रतिष्ठानमा एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपिरहेको बेला ४ सय शय्याको नयाँ अस्पताल भवन निर्माण कार्य अघि बढ्न नसक्दा अन्यौल थपिएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले भवनको लागि आवश्यक पर्ने सम्पुर्ण तयारी प्रतिष्ठानले पूरा गरेर सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी दिए । नयाँ सरकारले यस बारेमा गम्भीरतापूर्वक सोचविचार गरेर निकास निकाल्ने उनको विश्वास छ ।

ranechhap