वि.सं.२०८३ वैशाख १३ आइतवार

११२ पटक रक्तदान गरेका धनगढीका दीपक उपाध्यायलाई अन्तर्राष्ट्रिय सम्मान

khanepani

कैलाली । कैलाली धनगढीका रक्तदाता दीपक उपाध्यायलाई “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान-२०२६” बाट सम्मानित भएका छन्। भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिएको उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक हरिराम चेरोले प्रदान गरेका थिए।

रक्तदान जीवनदान भन्ने मुलमन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्वतःस्फूर्त रूपमा हालसम्म ११२ पटक रक्तदान गर्नुका साथै रक्तदानको विषयलाई सामाजिकीकरण एवं जागरण गराउने कार्यमा योगदान पुर्याएका कारण उनलाई सम्मान गरिएको जनाइएको छ। उपाध्याय पत्रकारितासँगै सामाजिक क्रियाकलापमा पनि सक्रिय छन् ।

कार्यक्रममा भारतका विभिन्न प्रदेशबाट सयौँ रक्तदाताहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा मानव जीवन बचाउने अभियानमा सक्रिय व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै रक्तदानलाई सामाजिक अभियानको रूपमा अघि बढाउनुपर्ने कुरामा जोड दिइएको थियो।

को हुन् वीर बिरसा मुन्डा ?

(वीर बिरसा मुन्डा) भारतका एक आदिवासी नेता, समाज सुधारक र स्वतन्त्रता सेनानी थिए। उनलाई विशेषगरी आदिवासी समुदायको अधिकार र ब्रिटिस शासनविरुद्धको आन्दोलनका कारण सम्झिने गरिन्छ।

बिरसा मुन्डाले आदिवासी समुदाय (विशेषगरी मुन्डा जाति) माथि ब्रिटिस शासन र जमिन्दारहरूले गरेको अन्यायविरुद्ध आन्दोलन चलाए। उनले “उलगुलान” (महाविद्रोह) नामक आन्दोलन सुरु गरेका थिए।

आदिवासीहरूको जमिन अधिकार जोगाउन संघर्ष गरे। ब्रिटिस शासन र शोषणकारी व्यवस्थाविरुद्ध आवाज उठाए ।आदिवासीहरूलाई आफ्नो धर्म, संस्कृति र पहिचान जोगाउन प्रेरित गरे ।

उनले धेरै कम उमेरमा नै ब्रिटिस शासनविरुद्ध ठूलो आन्दोलन चलाएका कारण उनलाई वीर बिरसा मुन्डा भनिन्छ। आदिवासी समुदायमा उनलाई “धरती आबा” (धरतीका पिता) भनेर पनि सम्मान गरिन्छ।

भारतमा उनको सम्झनामा धेरै ठाउँ, विश्वविद्यालय र कार्यक्रमहरू नामाकरण गरिएको छ।

ranechhap