वि.सं.२०८३ वैशाख ५ शनिवार

पर्यटकको फेक रेस्क्युमा संलग्न थप १ जना ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ

khanepani

काठमाडाैं । पर्यटककाे फेक रेस्क्युमा संलग्न थप एक जना ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका वडा नं. १ का ५० वर्षीय पासाङ शेर्पा रहेका छन् । उनी पानाराेमा हिमालयन ट्रेकिङ एण्ड एक्पिडिसन प्रालिका सञ्चालक हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या परेको देखाएर विदेशी पर्यटकको उद्धार गरिएको भन्दै बीमा कम्पनीबाट रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा रेस्क्यु फ्लाइट सञ्चालन गर्ने कम्पनीहरूले विभिन्न निकायमा रहेका अभिलेखको विवरणमा हेरफेर गरी यात्रु र कार्गाे फरक पारेको, किर्ते कागजात तयार गरेको तथा सोही आधारमा बिल बनाएको पाइएको सीआईबीका प्रवक्ता शिवप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई अनिवार्य बीमा नीति अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको देखाउँदै भर्ना डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट तथा उपचारको बिल तयार गरी बीमा रकम दाबी गरिएको पनि अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा “Make Nepal a no-go destination for tourists”, “A scam on the roof of the world” र “Stop providing cover to tourists travelling to Nepal / Silly announcement about Everest” जस्ता शीर्षकमा समाचार प्रकाशित भई नेपालको प्रतिष्ठामा नकारात्मक असर परेको बताइएको छ।

सीआईबीका अनुसार सन् २०२५ मा दुई विदेशी नागरिक सगरमाथा बेस क्याम्प ट्रेकिङमा गएका बेला गाइड तथा ट्रेकिङ कम्पनी सञ्चालकले उनीहरूको सहमति बिना हेलिकप्टर मगाई काठमाडौं ल्याएर अस्पतालमा भर्ना गराई रेस्क्यु तथा स्वास्थ्य बीमा दाबी गरेको भन्दै विद्युतीय माध्यमबाट उजुरी दिएका थिए।

उक्त घटनाका आधारमा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ।

हालसम्म यस प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी/सञ्चालक गरी १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

ranechhap