वि.सं.२०८३ वैशाख ३ बिहीवार

एमाले नेता प्रदीप ज्ञवालीको प्रतिक्रिया– गम्भीर धक्का हो, नेतृत्वको विकल्पमा पनि छलफल गर्छौं

khanepani

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी १ बाट पराजित एमाले नेता प्रदीप ज्ञवालीले देशभरिबाट प्राप्त मत परिणाम एमालेका निम्ति गम्भीर धक्का भएको प्रतिक्रिया दिएका छन् ।

बीबीसी नेपाली सेवासँग अडियो संवादमा उनले त्यसो भनेका हुन् । उनले यो परिणामपछि पार्टीले नीति, शैलीदेखि नेतृत्वको भूमिका र विकल्पसम्ममा छलफल गर्ने बताएका छन् । नयाँ संसदमा एमलो रचनात्मक, जिम्मेवार र परिपक्व प्रतिपक्षको भूमिकामा रहने उनले भनेका छन् ।

बीबीसीले गरेको संवादको मुख्य अंश यस्तो छ–

हाम्रा निम्ति यो गम्भीर धक्का हो, यसलाई स्वीकार गर्न हामीले कुनै संकोच मान्नुपर्दैन । यद्यपि, नेकपा एमालेले उठाएको राष्ट्रिय स्वाधीनताका मुद्दाहरु, यसले ओगटेको मध्यवामपन्थी धार, यसले समाजमा उठाएका सामाजिक न्याय, सामाजिक सुरक्षा, प्रवित परिवर्तनका मुद्दाहरु, लोकतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ, त्यो परिपूर्ण हुनुपर्छ भन्ने मुद्दाहरु र जनताको भविष्यचाहिँ अन्ततोगत्वा नवउदारवादमा, अनियन्त्रित बजार अर्थतन्त्रमा होइन, कहीँ न कहीँ समाजवाद उन्मुख अर्थतन्त्रमा छ भन्ने कुराको सान्दर्भिकता आज पनि छ । तर, त्यो मुद्दाहरुलाई बोक्ने हाम्रो संरचनामा ठूलै परिवर्तन, सुधारको खाँचो यो निर्वाचनले देखाएको छ ।

(पार्टीको नेतृत्व फेर्नेबारे सोधिएको प्रश्नमा)– एउटा घटनाले एउटा राजनीतिक आन्दोलन र एउटा राजनीतिक पार्टीको समग्र भविष्य निर्धारित हुन्छ भन्ने म ठान्दिनँ । तर, पनि यो निकै गम्भीर धक्का हो । त्यसमा कुनै सन्देह छैन । जहाँ जहाँ नीति परिवर्तन गर्न जरुरी छ, त्यहाँ नीति परिवर्तन गर्छौं, जहाँ जहाँ शैली परिवर्तन गर्नुपर्ने छ, त्यहाँ शैली परिवर्तन गर्छौं । यदि यसमा व्यक्ति विशेषको, नेतृत्वमा रहेका मुख्यमुख्य (हामीहरुको) भूमिकाको समीक्षाको माग हुन्छ भने हामी त्यो गर्छौं र विकल्पको माग गर्छ भने त्यसमा पनि हामी छलफल गर्छौं ।

ranechhap