काठमाडौं। मुख्यसचिव शंकरदाश वैरागीले उत्पादन भएको अक्सिजनलाई बिरामीको चापको आधारमा वितरण गर्न सातै प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउन भन्दै सोमबार सात वटै प्रदेशका प्रमुख सचिवसँग भर्चुअल बैठक गर्दै मुख्यसचिव वैरागीले अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भए–नभएको नियमन गर्न र बिरामीले प्राथमिकता अनुरूप उपचार पाए नपाएको सम्बन्धमा सुपरिवेक्षण गर्नसमेत निर्देशन दिएका हुन् ।
त्यसै क्रममा मुख्यसचिव वैरागीले उद्योगको सुरक्षा, उद्योगमा बिजुली, पानीको नियमित प्रबन्ध, स्थानीय तहसँग पूर्ण समन्वय, छिटो छरितो निर्णय लिने पक्रिया जस्ता सबै पक्षमा सक्रिय भई कार्य गर्न–गराउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।
मुख्य सचिवले समय–समयमा सुझावकोसमेत अपेक्षा राख्दै अक्सिजन उत्पादन गर्ने उद्योग जुनसुकै स्थानमा भएता पनि राष्ट्रिय आवश्यकताको आधारमा अक्सिजनको वितरण हुनुपर्ने र कतिपय अक्सिजन उद्योगबाट साना तिना कारणले उत्पादन हुन नआएको अवस्था भएमा त्यस्ता सबै पक्षलाई हेरी प्रदेश स्तरबाट विश्लेषण लगायतका विषयमा प्रतिवेदन माग गरेको कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
।









































