काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।
महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाएका हुन् ।
एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले सम्बन्धित सबैलाई आजै पत्र पठाइएको जानकारी दिए।
पत्रमा बादल एमाले उम्मेदवार रहेको उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ,’ पत्रमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’
बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएपछि बादलले जित्ने लगभग निश्चित भएको छ।
बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपनिर्वाचन ६ जेठमा हुँदै छ। उपचुनावमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले खिमलाल देवकोटालाई अघि सारेका छन्।









































