काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिबारे असन्तुष्टि जनाएका छन्।
पार्टीको दोलखा-काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको बताए।
पूर्वराजा शाहले देशको समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने बताएका थिए। त्यही अभिव्यक्तिबारे उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा गरेका छन्। म पाटीको तर्फबाट भन्छु यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु।’
उनले प्रतिक्रियावादी र प्रतिगामीहरूको चलखेलको कुनै अर्थ नभएको बताए। आफूहरूले सुरुदेखि नै देशको निकासको लागि चुनावको विकल्प नभएको कुरा गर्दै आएको बताए।
अहिलेकै परिस्थिति कायम रहे नेकपा पहिलो पार्टी बन्ने आधार तय भइरहेको जिकिर गरे। उनले नयाँ भन्नेहरूको हावाहुरीलाई जनताले बुझिसकेको बताए।









































