तेह्रथुम । पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिङ्गो टिमसहित एमाले प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टीमसहित मूलघर फर्किएका हुन् । तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरियो ।
एकीकृत समाजवादी तेह्रथुमले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरेको छ । यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित भएको बताइएको छ ।
सोही निर्णय अनुसार संविधानसभा सदस्यसमेत रहेका खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्च र विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता-कार्यकर्तासहित एमालेमा समाहित भएको जानकारी दिइएको छ।
विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लावासी सम्पूर्ण नागरिकमा अपीलसमेत गरिएको छ।







































