काठमाडौँ । कलाकार ज्योति मगरले आगामी निर्वाचनमा नयाँ–पुराना दल वा अनुहार भन्दा पनि राष्ट्र, स्वाधीनता र दीर्घकालीन विकासको स्पष्ट भिजन बोकेकाले जित्नुपर्ने धारणा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो मत राख्दै उनले देशलाई बाह्य शक्तिको प्रयोगस्थल बनाउन नहुनेमा जोड दिएकी छन् ।
उनले पछिल्लो समय ‘पुराना हेरेर सकियो, नयाँलाई मौका दिऔँ’ भन्ने नारामाथि प्रश्न उठाउँदै केवल नयाँ हुनु नै समाधान नभएको संकेत गरेकी छन् । नाम नलिइकनै उनले भिजनविहीन, उत्तेजना फैलाउने र भ्रम सिर्जना गर्ने प्रवृत्तिप्रति चेतावनी दिँदै यस्ता अभ्यासले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गरेकी छन् ।
मगरले नेपाल गरिब हुनसक्ने तर कहिल्यै कसैको गुलाम नभएको स्वाधीन इतिहास बोकेको राष्ट्र भएको स्मरण गराएकी छन् । उनले विदेशी प्रभाव, शक्ति केन्द्र र एजेन्डाको प्रयोगबाट देशलाई जोगाउनुपर्ने धारणा राख्दै गालीगलौज, भड्काव र अविवेकपूर्ण राजनीतिले देशलाई झुकाउने काम नगर्न आग्रह गरेकी छन् । उनले निर्वाचन ‘नयाँ–पुराना’ को बहसमा सीमित हुन नहुने र राष्ट्रवादी सोच, स्वाधीनता र विकासप्रति दृढ प्रतिबद्धता देखाउने शक्तिले नै जनमत जित्नुपर्ने हो ।
उनले अन्त्यमा देश कुनै पनि बाह्य शक्ति वा एजेन्डाको प्रयोगशाला नभएको स्पष्ट पार्दै राष्ट्र र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्न अपिल गरेकी छन् ।
उनले उत्तेजक र अराजक खबर फैलाउनेहरुलाई जनताले चिन्नुपर्ने भन्दै भनेकी छन्–‘खबर्दार कुनै भिजन नभएका अविवेकशीलहरु गालीगलौच, उत्तेजना र भ्रम छर्दै देश जलाउने, देश सकाउने र देश झुकाउने काम नगरुन्, यो देश हो कैले नयाँ कैले पुराना कैले इन्डिया, कैले अमेरिका कैले ‘रअ’ कैले‘सिआइए, कैले’ फ्री तिब्बतहरुले प्रयोग गरी हेर्ने प्रयोगशाला होइन ।’








































