काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणा यसपटकको आमनिर्वाचनमा उम्मेदवार नै नबन्ने भएका छन्। उनले राजनीतिक कारण देखाएर चुनाव नलड्ने घोषणा गरेका हुन्।
राणा यस अघिको चुनावमा बाँकेको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । यो निर्वाचनमा उनी कतैबाट पनि सिफारिस गरिएका छैनन । राणाले चुनाव नलड्ने पूर्व घोषणा गरिसकेकाले सिफारिसमा नपरेका हुन्।
नेपाल प्रेससँग कुरा गर्दै राणाले राप्रपाले बोकेको एजेन्डालाई यो चुनावले कुनै टेवा दिन नसक्ने बताए।
उनले भने, ‘हामीले अंगाल्दै आएको राजसंस्थालगायतका एजेन्डाहरु यो चुनावबाट स्थापित गर्न सकिने अवस्था छैन् । तलव–सुविधानका लागि मात्रै पटक–पटक सांसद बन्नुको औचित्य नदेखेर यसपटक निर्वाचनमा भाग नलिने निर्णय गरेको हुँ ।’
राणा राप्रपाको आगामी महाधिवेशनमा अध्यक्षका प्रत्याशी हुन् । उनले पार्टीभित्र संस्थापन पक्षसँग आन्तरिक संघर्ष गर्दै आएका छन् । यसपटकको चुनाव नलडे पनि भविष्यमा के गर्ने भन्ने तय नभएको उनी बताउँछन् ।
राणा यसअघि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा विजयी भएका हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाच्नमा उनी बाँकेबाट नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।









































