वि.सं.२०८३ वैशाख ८ मंगलवार

सांसद लड्न राजीनामा दिएकी उपाध्यक्ष थापालाई लिखु गाउँपालिकाले गर्‍यो बिदाइ समारोह

khanepani

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेपछि लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी एमाले केन्द्रीय सदस्य अस्मिता थापालाई पालिकामा भव्य बिदाइ गरिएको छ । नेकपा एमालेले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।

गाउँपालिका अध्यक्ष अशोक कार्कीले सोही साँझ राजीनामा स्वीकृत गरेका थिए भने आज पालिका कार्यालयमा बिदाइ समारोह आयोजना गरिएको थियो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा अध्यक्ष कार्की नेपाली कांग्रेस र उपाध्यक्ष थापा एमालेबाट निर्वाचित भएका थिए ।

बिदाइ समारोहमा अध्यक्ष कार्कीले गाउँपालिका उपाध्यक्षबाट सांसद बन्न लागेकी युवा नेता थापालाई राष्ट्रिय राजनीतिको यात्राका लागि शुभकामना दिए । जनप्रतिनिधि र कर्मचारीहरूले उपाध्यक्ष थापाको बिदाइ एकातिर माथिल्लो राजनीतिक यात्राका लागि सुखद भएको भन्दै बिदा गर्नुपर्दाको क्षण भावुक बनेको बताए ।

आफ्नो राजीनामा थप जिम्मेवारीका लागि भएको भन्दै उनले हालसम्मको सहकार्यका लागि सबैलाई धन्यवाद दिँदै नयाँ भूमिकाबाट लिखुको विकास र समृद्धिमा अझ बढी योगदान गर्ने बताइन् । उनले मतदातालाई समेत आभार व्यक्त गर्दै नयाँ भूमिकामा मन र मतसहितको सहयोगको अपेक्षा समेत गरेकी छन् ।

गाउँपालिकाबाट बिदाइ भएपछि वक्तव्य जारी गर्दै थापाले भनेकी छन्- अब म तपाईंहरूको आवाजलाई स्थानीय तहबाट संसदसम्म पुर्‍याउने संकल्पसहित पार्टीको निर्देशनबमोजिम प्रतिनिधिसभा निर्वाचनमा होमिदैछु । यो निर्णय व्यक्तिगत पदको लालसा होइन पार्टीको निर्णय र आवश्यकताले भएको हो । लिखुको समस्या, सम्भावना र सपनालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने थप जिम्मेवारीका रुपमा मैले यसलाई लिएकी छु ।

थापा राष्ट्रिय राजनीतिक दलबाट ओखलढुंगामा उम्मेदवार बन्ने पहिलो महिला हुन् । जेनजी पुस्ताकी उम्मेदवार थापाले टिकट पाएसँगै ओखलढुंगाको राजनीतिमा हलचल पैदा गरेको छ । त्यहाँ रास्वपाले पूर्व एआईजी विश्वराज पोखरेललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र नेकपाले टुंगो लगाउन बाँकी छ ।

ranechhap