काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मदवारहरुको टुंगो लगाउने अन्तिम गृहकार्यमा छ । अधिकांश मुख्य नेताहरुको चुनाव क्षेत्र फाइनल भइसकेको स्रोतले बतायो ।
रास्वपाले यसपटक प्राइमरी इलेक्सन नगरी केन्द्रबाट सिँधै उम्मेदवारहरु छनोट गरिरहेको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा समिति बनाइसकेको थियो । उक्त समितिले आज सूची फाइनल गरेर भोलि बस्ने केन्द्रीय समिति वैठकले टुंग्याउने एक नेताले जानकारी दिए ।
रास्वपाबाट यसअघिको चुनावमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसदहरु पुरानै स्थानबाट लड्दैछन् । सभापति रवि लामिछानेले चितवन २ बाटै उम्मेदवारी दिनेछन् । उनी २०७९ सालमा भएको निर्वाचन र त्यसपछि फेरि भएको उपनिर्वाचनमा दुवैपटक विशाल मत ल्याएर विजयी बनेका थिए ।
रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा समेत उभ्याएका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ बाट उम्मेदवार बन्दैछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउने ध्येयले उनले सो क्षेत्र रोजेका हुन् । बालेनको चुनावी अभियान ५ गतेबाट सुरु हुँदैछ ।
उपसभापति डीपी अर्याल काठमाडौं ९ बाट लड्ने तय भएको छ । उनी अघिल्लोपटक समानुपातिक सांसद थिए । अर्याललाई काठमाडौं जिल्ला क्षेत्रीय निर्वाचन समितिले ९ नम्बरबाट सर्वसम्मत सिफारिस गरेको थियो ।
अर्का उपसभापति डा. स्वर्णिम वाग्ले यसअघि जितेको तनहुँ क्षेत्र नम्बर १ बाटै उठ्ने तर्खरमा छन् । २०८० सालमा भएको उपनिर्वाचनमा उनी यो क्षेत्रबाट भारी मतले विजयी बनेका थिए ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट लड्ने तयारीमा छन् । अघिल्लो चुनावमा उनी यही क्षेत्रबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँग भिडेर दोस्रो भएका थिए । बुर्लाकोटी गोर्खा २ कै बासिन्दासमेत हुन् ।
सहमहामन्त्री विपिन आचार्यको निर्वाचन क्षेत्र निश्चित भइसकेको छैन । उनी दाङ २ वा काठमाडौंको कुनै क्षेत्रबाट लड्ने तयारीमा छन् । यसअघि उनको नाम रास्वपाको बन्दसूचीमा खस आर्यतर्फ पहिलो नम्बरमा थियो । आचार्यले बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनावमा होमिन लागेका हुन् ।
रास्वपा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाटै दोहोरिने तयारीमा छन् । २०७९ सालको आमनिर्वाचनमा उनी यही क्षेत्रबाट विजयी बनेका थिए । काठमाडौंबाट जितेका रास्वपाका अन्य दुई उम्मेदवार गणेश पराजुली र शिशिर खनालको पनि निर्वाचन क्षेत्र परिवर्तन नहुने सम्भावना छ । पराजुली काठमाडौं ७ र खनाल ६ नम्बरबाट लड्नेछन् ।
काठमाडाैं २ बाट चर्चित जित निकालेकी सोविता गौतमको भने निर्वाचन क्षेत्र फेरिने भएको छ । उनी चितवन ३ बाट उम्मेदवारी दिँदैछिन् । काठमाडौं २ लाई बालेनले ‘होल्ड’ गरेपछि सोविताले चितवन रोजेकी हुन् ।
रास्वपा प्रवक्ता मनिष झा सिराहाको ३ बाट उठ्ने तयारीमा छन् । उनी यसअघि समानुपातिक सांसद थिए । रास्वपाका सचिवालय सदस्य दिपक बोहरा पनि प्रत्यक्षमा भिड्दैछन् । कञ्चनपुर २ बाट उनले टिकट पाउने निश्चित भइसकेको छ ।
रास्वपाका चर्चित नेता गणेश कार्कीले मोरङ ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । यो कांग्रेस नेता सुनील शर्माले अत्यधिक मत ल्याएर जितेको क्षेत्र हो । यहाँको चुनावी भिडन्त पनि रोचक हुनेवाला छ ।
केन्द्रीय सदस्य हरि ढकालले अघिल्लो चुनावमा जितेको चितवन १ बाटै फेरि उम्मेदवारी दिँदैछन् । अघिल्लो चुनावमा ललितपुर ३ बाट जितेकी डा. तोसिमा कार्की फेरि त्यही क्षेत्रबाट उम्मेदवार बन्ने सम्भावना छ । उनले यो क्षेत्रमा एमालेका अमृत भट्टराई र माओवादीकी पम्फा भुषाललाई हराएकी थिइन् ।
केन्द्रीय सदस्य निशा डाँगीले झापा २ बाट उम्मेदवारी दिने तयारी गरेकी छन् । उनी यसअघि समानुपातिक सांसद थिइन् । झापा २ उनको आफ्नै निर्वाचन क्षेत्र पनि हो । पूर्वउपसभामुख इन्दिरा राना पनि झापा २ बाट दावी गरेकी थिइन् । यद्यपि, पार्टीले डाँगीलाई रोजेको बुझिएको छ। राना सम्भवतः उदयपुर २ जान सक्छिन् ।
केन्द्रीय सदस्य पुकार बमले काठमाडौं १ मा दावेदारी गरिरहेका छन् । अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट स्वतन्त्र उठेका उनले ४ हजारभन्दा बढी मत ल्याएका थिए । यस क्षेत्रमा यो पाली रास्वपाका अरु पनि आकांक्षी छन् ।
रास्वपाले यसपटक वरिष्ठ नेता बालेनको कोटाबाट पनि केही उम्मेदवार समेट्नुपर्ने छ । बालेनको सचिवालयबाट थुप्रै जना टिकटका आकांक्षी छन् । उनका प्रमुख स्वकिय सचिव भूपदेव शाहले अछाम २ बाट लड्ने निधो गरिसकेका छन् । बालेनको कोटाबाट आसिफ साहले काठमाडौं ५ बाट लड्ने घोषणा गरिसकेका छन् । उनले रास्वपा र बालेनलाई मिलाउन सक्रिय भूमिका खेलेका थिए । साह यसअघि राजनीतिमा थिएनन् ।
बालेनको तर्फबाट टिकट पाउनसक्ने अर्का आकांक्षी हुन् केपी खनाल । उनको दावी कैलाली २ मा छ । यस्तै, काठमाडाैंको नगर प्रहरी प्रमुखबाट राजीनामा दिएका राजु पाण्डेलाई पनि बालेनले काठमाडाैंकै एक क्षेत्रमा लडाउन चाहेका छन् । पाण्डेले ४ नम्बरमा टिकट पाउनसक्ने दावी गरिएको छ ।
बालेनको तर्फबाट सुनील लम्सालले पनि टिकटमा दावी गरेका छन् । उनी बालेनका पूर्वाधार सल्लाहकार हुन् । लम्सालको नाम रास्वपाको महामन्त्रीमा पनि चर्चामा छ । उनले रुपन्देही १ बाट लड्न खोजेको बुझिएको छ ।
बालेनकै कोटाबाट साहित्यकार गनेश पौडेल कास्की १ बाट उम्मेदवारी दिने तयारीमा छन् । यसैगरि सागर ढकाललाई बालेनले डडेल्धुराको टिकट मिलाइदिने वाचा गरिसकेका छन् । ढकाल यसअघिको चुनावमा सोही क्षेत्रबाट कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सुशीला कार्कीको सरकारका दुईजना मन्त्रीहरुको नाम पनि रास्वपाका सम्भावित उम्मेदवारका रुपमा चर्चामा छ । खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदिश खरेल घन्टी चिन्ह लिएर लड्न चाहन्छन् । गुप्ताले सिराहा १ र खरेलले ललितपुर २ मा दावी गरेको बुझिएको छ ।
रास्वपाले अहिलेसम्म औपचारिक रुपमा निर्णय गरेको भनेको रुपन्देही ३ मा मात्रै हो । उक्त क्षेत्रमा यसअघि उपनिर्वाचन हुने भएपछि प्राइमरी इलेक्सनबाट लेखजंग थापा उम्मेदवार छनोट भएका थिए । उनैलाई उठाउने निर्णय पार्टीले गरिसकेको छ ।









































