वि.सं.२०८३ वैशाख २६ शनिवार

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट सुरु हुँदै

khanepani

पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट सुरु हुँदै छ । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको महाधिवेशनले देशैभरि तरङ्ग ल्याएको छ । कांग्रेसहरु प्रस्ट दुई कित्तामा विभाजित छन् । रातारात महाधिवेशन प्रतिनिधि र समर्थकहरू जिल्ला जिल्लाबाट काठमाडौँ छिरेका छन् ।

महाधिवेशनको उद्घाटन नजिकिँदै गर्दा गण्डकी प्रदेशभित्रको राजनीति स्पष्ट रूपमा दुई धारमा विभाजित देखिएको छ । महाधिवेशनको सङ्घारमा गण्डकीका ११ जिल्लामध्ये जिल्ला सभापतिहरूको समीकरण ‘४–४–३’ को अवस्थामा पुगेको छ । महाधिवेशनको पक्ष र विपक्षमा देखिएको यो रस्साकस्सीले गण्डकी कांग्रेसमा स्पष्ट कित्ताकाट देखिएको छ ।

विशेष महाधिवेशनको पक्षमा ४ जिल्ला

विशेष महाधिवेशनको समर्थनमा गण्डकीका चार जिल्ला सभापतिहरू खुलेरै लागेका छन् । गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, कास्कीका किशोरदत्त बराल, नवलपुरका महेन्द्रध्वज जिसी र पर्वतका युवराज जोशी विशेष महाधिवेशनको पक्षमा उभिएका हुन् ।

उनीहरूले आ–आफ्ना जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक रूपमै अपिल गरेका छन् । यी जिल्लाहरूमा संस्थापन इतर समूहको प्रभाव बलियो मानिँदै आएको छ ।

विपक्षमा उभिए ४ जिल्ला

प्रदेशका चार जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै यसको विपक्षमा मत जाहेर गरेका छन् । म्याग्दीका खम्बिर गर्वुजा, मनाङका शंकर गुरुङ, बागलुङका जीत शेरचन र स्याङ्जाका राजु थापाले संयुक्त विज्ञप्ति नै जारी गरेर महाधिवेशनको विरोध गरेका हुन् । उनीहरूले अहिले विशेष महाधिवेशनमा लाग्नुभन्दा नियमित महाधिवेशनको तयारी गर्न र आसन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्ने तर्क अघि सारेका छन् ।

३ जिल्ला अनिर्णीत

विशेष महाधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि ३ जिल्लाका सभापतिहरू भने अझै तटस्थ देखिएका छन् । लमजुङका डा टकराज गुरुङ, तनहुँका जीतप्रकाश आले र मुस्ताङका रोमी गौचन थकाली अहिलेसम्म कतै खुलेका छैनन् । १४ औँ महाधिवेशनको समीकरण हेर्दा डा. टकराज र जीतप्रकाश संस्थापन (शेरबहादुर देउवा) निकट मानिन्थे भने रोमी गौचन तत्कालीन समयमा रामचन्द्र पौडेल (हाल राष्ट्रपति) निकट मानिन्थे । उनीहरु कतैपनि नखुल्ने तयारीमा छन् ।

केही जिल्लाका जिल्ला सभापति विपक्षमा उभिएपनि क्षेत्रीय र पालिका सभापतिहरू विशेष महाधिवेशनकै पक्षमा देखिएका छन् । बागलुङका जिल्ला सभापति महाधिवेशनको विपक्षमा उभिए पनि त्यहाँका निर्वाचन क्षेत्र र पालिकाहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । यस्तै, तनहुँका जिल्ला सभापति तटस्थ बसिरहँदा त्यहाँका क्षेत्रीय समितिहरूले पनि विशेष महाधिवेशनको पक्षमा आफूलाई उभ्याएका छन् । यसले जिल्ला र क्षेत्रबिचको आन्तरिक द्वन्द्व सतहमा ल्याएको छ ।

विशेष महाधिवेशन पक्षधर समूहले गण्डकी प्रदेशबाट करिब ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको साथ आफूहरूलाई रहेको दाबी गरेको छ । यसअघि माग दाबी पत्र बुझाउँदा गण्डकीबाट २ सय ७१ जना प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

यद्यपि, गण्डकी प्रदेश कार्यसमितिले भने संस्थागत रूपमा कुनै ह्विप जारी गरेको छैन । महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार प्रदेशले कसैलाई औपचारिक आह्वान नगर्ने नीति लिएको छ । तर, प्रदेश सभापति शुक्रराज शर्माले सार्वजनिक गरेको अवधारणापत्रले विशेष महाधिवेशनलाई नैतिक समर्थन दिएको देखिन्छ ।

उपसभापति मेखलाल श्रेष्ठ चाहिँ प्रस्ट विपक्षमा उभिएका छन् । विशेष महाधिवेशनले गण्डकी कांग्रेसलाई ठिक आधा–आधा हिस्सामा विभाजन गरिदिएको छ । यसले पार्टीको आगामी गतिविधिमा गम्भीर असर सिर्जना गर्ने कांग्रेसका समर्थकहरूको तर्क छ ।

ranechhap