काठमाडौं । समानुपातिक सूची सच्याउन माग गर्दै केही नेतृ अनसन बसेपछि राप्रपामा तनाव उत्पन्न भएको छ । आन्दोलित नेतृहरूले पार्टी अध्यक्षले आफूहरूमाथि दमन गर्न खोजेको आरोप लगाएका छन् ।
समानुपातिक सूचीमा परिवारवाद र अवसरवाद हावी भएको असन्तुष्ट नेतृहरूको भनाइ छ । हिजो उनीहरू अध्यक्ष राजेन्द्र लिङदेनलाई ज्ञापनपत्र बुझाउन कार्यालय गएका थिए । अध्यक्ष नभेटिएपछि महामन्त्री राजेन्द्र गुरूङलाई ज्ञापनपत्र प्रस्तुत गरे ।
केहीबेरमा अध्यक्ष लिङदेन कार्यालय प्रवेश गरे । त्यसक्रममा असन्तुष्ट महिलाहरूसँग उनको वादविवाद भयो । आक्रोशमा आएर अध्यक्षले आफहरू बसेको म्याटसमेत च्यातिदिएको नेतृ चम्पा अधिकारीले बताइन् ।
‘सुरूमा केही महिलाहरू आएर विवाद र दुर्व्यवहार गरे । पछि अध्यक्षले पनि त्यही शैली अपनाउनु भयो । हाम्रो माग सुन्नुको साटो उत्तेजित बनेर म्याट च्यातिदिनुभयो’ उनले भनिन् ।
दिनभरि विवादपछि केही नेतृले राति नै कार्यालयभित्रै अनशन सुरू गरे । नेतृ नानीमैया आचार्य आमरण अनशन बसेकी छन् । यस्तै चम्पा अधिकारी, घ्युकुमारी बस्नेत लगायतले रिले अनशन बसेर साथ दिएका छन् ।
नेतृहरू अनशनरत रहँदा आज बिहान कार्यालयको गेटमा ताला ठोकिएको थियो । अध्यक्षको निर्देशनमै गेटमा बाहिरबाट ताला लगाइएको नेतृहरूको आरोप छ । १२ बजेतिर केही सञ्चारकर्मीहरू रिपोर्टिङका लागि आएपछि ताला खोलिएको अधिकारीले बताइन् ।
महिला नेतृहरूले विशेषगरी समानुपातिक सूचीमा खुश्बु ओली तथा उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमतीलाई पहिलो नम्बरमा समावेश गरिएको विषयप्रति आपत्ति जनाएका छन्।
लामो समयदेखि पार्टीका लागि संघर्षरत, संगठन निर्माणमा सक्रिय तथा योगदान दिएका महिला नेतृहरूलाई पाखा लगाएर पारिवारिक र व्यक्तिगत सम्बन्धका आधारमा नाम समावेश गरिएको केन्द्रीय सदस्य पवित्रा सुब्बाले बताइन् ।
‘हामी लामो समयदेखि पार्टीमा योगदान दिएका महिलाहरूमाथि सँधै अन्याय हुँदै आएको छ, यसपटक पनि त्यही प्रवृत्ति दोहोरियो, उनले भनिन् ।
पार्टीको नेतृत्वले भने कार्यसम्पादन समितिको बैठक बसेर गरिएको सामूहिक निर्णयको सबैले स्वामित्व लिनुपर्ने भन्दै अनावश्यक विवाद र मिडियावाजी नगर्न आग्रह गरेको छ ।







































