काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन्।
विशेष महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजनतिर गएपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभाजन रोक्न आफूहरू सक्रिय भूमिका खेल्ने बताए।
अर्का नेता सुनिल शर्मालाई साथमा राखेर उनले भने, ‘हामी कुनै हालतमा पार्टी विभाजन हुन दिँदैनौँ। यसलाई नीति महाधिवेशन वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाऔँ। काठमाडौं आउनुभएको साथीहरूलाई उत्साहित बनाएर फेरि चार महिनापछि हुने महाधिवेशनमा आउने गरी पठाऔँ।’
विशेष महाधिवेशन पक्षधरले पनि पार्टीलाई एकजुट बनाएर र संस्थापन पक्षले पनि अपनत्व ग्रहण गर्नुपर्ने बताए।
अर्का नेता सुनिल शर्माले पनि आफूहरू पार्टी विभाजन रोक्नको लागि दिनरात खटिरहेको बताए। आफूहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि भेटेर पार्टीपंक्ति उत्साहित हुने गरी निकास निकाल्न आफूहरू लागिरहेको बताए।
उनले विधानको व्यवस्थालाई बेवास्ता गरेर संस्थापन पक्ष अगाडि बढ्नु नै कमजोरी भएको बताए। उनले भने, ‘विधानको व्यवस्थालाई संस्थापन पक्षले बेवास्ता गरेकै कारण कांग्रेस अहिले भिरको डिलमा पुगेको छ। कांग्रेसभित्र सङ्कट पर्नु भनेको मूलकलाई सङ्कट पर्नु हो। त्यसैले हामीले यसलाई रोक्न आग्रह गरिरहेका छौँ।’
उनले अहिलेको विवाद मिलाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हुने बताए। विशेष महाधिवेशन पक्षधरलाई पाखा राखेर अर्को ढङ्गले नजाने गरी मध्यमार्गी विकल्पमा दुवै पक्ष आउनुपर्ने बताए।







































