वि.सं.२०८३ वैशाख २७ आइतवार

कुवेतमा श्रम गरिरहेका अमर परियार- राप्रपाले बनायो दलित क्लस्टरको पहिलो उम्मेदवार

khanepani

काठमाडौं । राप्रपाले समानुपातिक सूचीमा दलित कोटातर्फ पहिलो नम्बरमा राखेका उम्मेदवार हुन् अमर परियार । उनी यति बेला वैदेशिक रोजगारीमा छन् ।

६ महिनाअघि रोजगारीका लागि कुवेत पुगेका अमरलाई राप्रपाले समानुपातिक सूचीमा समेटेको हो । उनी राप्रपा निकट दलित मोर्चा उत्पीडित उत्थान संगठनका केन्द्रीय संयोजक थिए । पार्टीले समानुपातिक सूचीको पहिलो प्राथमिकतामा राखेपछि उनलाई सांसद बन्ने आशा पलाएको छ ।

धादिङको गल्छी गाउँपालिका घर भएका परियार राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपामा प्रवेश गरेका हुन् । पार्टीमा सक्रिय हुँदाहुँदै आफ्नो व्यवहार मिलाउनका लागि वैदेशिक रोजगारमा आउनुपरेको उनी बताउँछन् ।

‘म पार्टी काममा सक्रिय रहँदै व्यवसाय पनि गरिरहेको थिएँ । तर कपडासम्बन्धी व्यवसायमा घाटा लागेपछि आर्थिक संकट पर्‍यो । त्यसैको निवारणका लागि कुवेत आएको हुँ,’ उनले सुनाए ।

कुवेतमा पनि उनी लाउन्ड्रीकै काम गरिरहेका छन् । गल्फ स्ट्रिट बिच भ्यूस्थित कुवेत टावर्स नजिकै रहेको माइस अल्घानिम होटलमा लाउन्ड्रीको काम गरिरहेको परियारले जानकारी दिए । अहिले उनी बेलुकी ४ बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गर्ने गर्छन् । उनले कपडा सिलाउने, धुने, स्त्री लगाउने लगायतका काम गर्नुपर्छ । खर्च कटाएर मासिक ६० हजार जति बचत हुने उनले सुनाए ।

विगतमा पनि उनले ६ वर्ष यही कम्पनीमा काम गरेका फर्केका थिए । नेपाल फर्किएर कपडाको व्यवसाय थाले पनि टिकाउन सकेनन् । अन्तमा वैदेशिक रोजगारीमै फर्किनु पर्‍यो र उनले पुरानै कम्पनी रोजे ।

अहिले पार्टीले मूल्यांकन गरेर समानुपातिकमा राखेकोप्रति उनी खुसी छन् । अध्यक्ष राजेन्द्र लिङदेनसँग सम्पर्क भइसकेको उनले बताए ।

‘पार्टीले मेरो कामको मूल्यांकन गरेको महसुस भएको छ । अध्यक्षज्यूसँग पनि सम्पर्क भइसक्यो । म अब चुनावको वातावरण बन्नासाथ नेपाल फर्किने सोच्दैछु’, परियारले भने ।

अमरको परिवार भने काठमाडौं बस्दै आएको छ । जापान जाने तयारीमा लागेकी उनकी एक छोरी बीबीएम पढ्दै छिन् ।

ranechhap