वि.सं.२०८३ वैशाख २७ आइतवार

नेकपाले आफ्नो कार्यशैली सुधार्नुपर्छः महेश्वर दाहाल

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश्वर दाहालले पार्टीले आफ्नो कार्यशैलीमा सुधार्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रमा एक प्रस्ताव पेश गर्दै उनले नेकपाभित्रका केही नेता तथा कार्यकर्ताको भ्रष्टाचार र अनैतिक व्यवहारका कारण जनयुद्ध, त्याग र बलिदान उपहासको विषय बनेको टिप्पणी गरेका छन् ।

दाहालका अनुसार पार्टीभित्र करिब १०–८ प्रतिशत गलत प्रवृत्तिका नेता तथा कार्यकर्ताले गरेको भ्रष्टाचार र व्यभिचारले परिवर्तनका लागि गरिएको बलिदानको मूल्य घटाएको छ । “हाम्रो त्याग, बलिदानी र परिवर्तनको संस्कृति जोगाउन अब जनतालाई विश्वासमा लिनैपर्छ,” उनले भने, “त्यसका लागि सबैभन्दा पहिला पार्टीले आफ्नै कार्यशैली सुधार्नुपर्छ ।”

उनले आत्मआलोचनाको आवश्यकता औंल्याउँदै सबै नेता तथा कार्यकर्ताले आफ्नै कमजोरीमाथि कठोर रूपमा समीक्षा गर्नुपर्ने बताए । “सबैले आफ्नै टाउकामा आगो लगाउने साहस गर्नुपर्छ, नत्र अरूले झोस्ने अवस्था आउँछ,” उनको भनाइ छ ।

दाहालले पार्टीको प्रभाव प्रयोग गरी अपारदर्शी रूपमा आर्जन गरिएको सम्पत्ति पार्टीकरण गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । जनयुद्धका क्रममा पीडित भएका व्यक्ति तथा परिवारको लालनपालन र आश्रयका लागि त्यस्ता सम्पत्ति प्रयोग गर्नुपर्ने र यदि सम्पत्ति अकुत देखिएमा त्यसलाई राष्ट्रियकरण गर्नुपर्ने उनको माग छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने पनि दाहालले बताएका छन् । उनका अनुसार चुनाव जनताको विश्वास, जनताकै मत र जनताकै सेवाका लागि लडिने हुनुपर्छ । “यो चुनाव कुनै विवादास्पद व्यापारी, ठेकेदार वा स्वार्थ समूहको पैसाले होइन, इमानदार नागरिकहरूको स–सानो योगदानबाट सञ्चालन हुन्छ भन्ने स्पष्ट पार्नुपर्छ,” उनले भने ।

निर्वाचन खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीले औपचारिक बैंकिङ प्रणालीमार्फत मात्र सहयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ । विवादास्पद व्यापारी, कालोधन, बिचौलिया वा गुप्त सम्झौताबाट आएको कुनै पनि रकम स्वीकार नगर्ने प्रतिबद्धता पार्टीले गर्नुपर्ने उनले बताए ।

पैसाले नभई जनविश्वासले चुनाव जित्ने राजनीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले जहाँ भए पनि इमानदार राजनीतिका लागि साथ दिन आह्वान गरेका छन् ।

ranechhap