काठमाडौं । ५ वर्षअघि राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमूना युवा संसदको सभामुख बनेर चर्चा कमाएकी रुपन्देहीकी श्रद्धा कुँवर अन्ततः वास्तविक संसदकै सदस्य बन्नेगरी रास्वपाको समानुपातिक सूचीमा परेकी छन् ।
जेनजी आन्दोलनमा विद्यार्थी मारिएपछि एमाले छाडेको घोषणा गरेकी कुँवरलाई रास्वपाले खस आर्य महिलाको चौथो नम्बरमा राखेको छ । प्रतिभा रावल,विदुषी राणा,लिमा अधिकारीपछि युवा अभियन्ता श्रद्धाको नाम राप्रपाले बन्दसूचीमा समेटेको छ ।
एक दशकदेखि सामाजिक अभियन्ताका रुपमा युवा सशक्तिकरण तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय रहँदै आएकी कुँवर अब राष्ट्रिय राजनीतिमा स्थापित हुने चरणमा पुगेकी छन् ।
श्रद्धाले ‘लायन्स इन्टरनेशनल’मार्फत नेतृत्व यात्राको सुरुवात गर्दै प्रथम महिला अध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरिसकेकी छन्। यसका साथै महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धनलगायतका विभिन्न कार्यक्रममा जिम्मेवार भूमिका निर्वाह गर्दै अनुभव बटुलेकी छन्।
राष्ट्रिय युवा परिषदद्वारा सञ्चालन गरिएको ‘नमुना युवा संसद’ अभ्यास कार्यक्रममा सभामुखको भूमिका निर्वाह गरेको अनुभवलेसंसदीय अभ्यास र नेतृत्व क्षमतालाई थप मद्दत गरेको उनले बताइन् ।
विगतमा नेकपा एमालेमा रुपन्देही जिल्ला कमिटी सदस्य रहेकी श्रद्धा युवा संघको केन्द्रीय सदस्य पनि थिइन् । जेन–जी आन्दोलनका क्रममा उनले निरन्तर आवाज उठाइन् तर पार्टीभित्र सुनुवाइ नहुँदा र आफ्ना एजेन्डासँग दिशा नमिलेपछि उनले पार्टी परित्या गरेकी थिइन् ।









































