काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो नेतृत्वमा सुरु गरिएको संसद् पुनर्स्थापनार्थ हस्ताक्षर सङ्कलन अभियान कसैको निर्देशनमा नगरिएको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बुधबार हस्ताक्षर सङ्कलनबारे जानकारी गराउँदै घिमिरेले साथीहरूले चिया खान बसेको बेलामा भएको सल्लाहबमोजिम सुरु गरिएको जानकारी दिए ।
‘सभापति, कार्यवाहक सभापति र महामन्त्री कसैको पनि निर्देशनमा हस्ताक्षर अभियान सुरु गरिएको होइन,’ घिमिरेले भने, ‘म यसमा प्रस्ट हुन आग्रह गर्न चाहन्छु । आरोप–प्रत्यारोपहरू लगाइएको छ । तर, यो कसैको सहमतिमा, निर्देशनमा भएको कुरा होइन ।’
साथीहरूबिच चिया खाँदा भएको सल्लाहबमोजिम हस्ताक्षर सङ्कलन सुरु गरिएको उनको भनाइ थियो । ‘केही सांसदहरू चिया खानलाई जम्मा भयौँ, जम्मा हुँदाखेरि ल यो बाटोबाट जाउँ न भनेर सुरुवात गरेको हो,’ घिमिरेले भने ।
हस्ताक्षर पार्टीलाई आग्रह गर्न अनुरोध गर्न गरिएको र अन्य कुनै ठाउँमा प्रयोग नगरिने घिमिरेले बैठकमा बताए । केन्द्रीय कार्यसमिति बैठकमा बुझाउनका लागि मात्रै पूर्वसांसदहरूको हस्ताक्षर सङ्कलन गरिएको उनको भनाइ थियो ।







































