वि.सं.२०८१ चैत ११ सोमवार

प्रचण्डको पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ ।

सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । हातखुट्टा चल्दैनन् आँखा जुधाएर हेर्न सक्नुहुन्न, स्रोतले भन्यो, ‘दिसा पिसाब गराइदिनुपर्छ, खाना पनि झोलजस्तो बनाएर पाइपबाट खुवाइदिनुपर्छ ।

दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पी.एस.पी बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने डा. प्रत्युष श्रेष्ठ बताउँछन् ।

सीतालाई यसअघि अमेरिका सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ । यही वैशाख दोस्रो साता उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै छिन् ।