काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले जेनजी पुस्ताले आयोजना रेको आन्दोलनप्रति आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले अराजक परिस्थिति उब्जिन नदिई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सूचीकृत गर्न आउनू भनेर जारी गरिएको सूचना अनुसार फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरू बन्द भए पछाडि आक्रोशित युवा पुस्ताले गर्न लागिएको जेनजी पुस्ताको भ्रष्टाचारविरोधी लगायतका विषयको नाराहरूसहितको आयोजना गरिएको आन्दोलनमा घुसपैठ हुन सक्ने आशङ्का लागेको छ ।’
भ्रष्टाचारको विषयमा कांग्रेस र नेपाल तरुण दलले सधैँभरी बुलन्द आवाज उठाउँदै आएको गुरुङको जिकिर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जेन जी पुस्तालाई हामी ध्यानाकर्षण गराउन चाहन्छौं आज जुन स्वतः स्फूर्तको साथ आन्दोलन गर्न पाउनुभएको छ त्यो तिनै नेताहरूको त्याग, बलिदानले ल्याएको परिवर्तनको कारणले हो तर कुनै नेताको छोरा वा छोरी भएकै कारण उसले आफ्नो व्यक्तिगत जीवन जिउँदा अनेक तवरले विरोध गर्नु कसरी न्यायसङ्गत हुन्छ । जेन जीलाई हाम्रो प्रश्न छ ?’
अहिले फेसबुक मेटा, युट्युब जस्ता सामाजिक सञ्जाल नचल्नाले गर्दा धेरै युवाहरू डिजिटलाइजेसन प्रविधिको उपयोगबाट वञ्चित भएकाले आजको आन्दोलन यही तथ्यमा आधारित रहेको तरुण दलले जनाएको छ ।










































