वि.सं.२०८२ फागुन २५ सोमवार

निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैन : उपाध्यक्ष राई

khanepani

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने समेत बताइन् ।

निर्वाचन प्रणाली शुद्ध गर्न नसकिए पछाडि परेका महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरूलाई अघि बढाउन नसकिने उनले बताइन् ।

सरकारले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटो ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्,‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन । त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ ।

निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरू सबै पछि पर्दछन् । यो निर्वाचन प्रणाली हामीले सच्याउनैपर्छ । हिजोको भन्दा प्रगतिशील आएको छ तर पूर्ण रूपमा आएको छैन । अहिले यो विधेयक ल्याउन तयार भएको छैन सरकार । किन ल्याउँदैन । यो विधेयक छिटो भन्दा छिटो ल्याउनुपर्छ ।’

उपाध्यक्ष राईले स्थानीय तहमा प्रमुखहरु पटक–पटक एकै जनालाई उठाइराख्ने प्रवृत्ति रोक्नुपर्ने बताइन् ।