काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दिपक थापाले प्रहरीमा महिलाको आकर्षण बढेको बताएका छन् । प्रथम महिला प्रहरी सम्मेलनको शुक्रबार समापन कार्यक्रममा बोल्दै आईजीपी थापाले भने, ‘अहिले प्रहरीमा १२.४१ प्रतिशत महिला छन्, आकर्षण बढेको छ ।’
सो कुरा बताएका हुन् । भदौ ५ देखी प्रहरी प्रधान कार्यालयमा सुरु भएको सम्मेलन शुक्रवार सम्पन्न भएको छ । ‘महिला र पुरुष प्रहरी बराबर हो’ आईजीपी थापाले भने,‘पहिला प्रहरी त्यसपछि हामी लिङ्गमा जान्छौँ ।’
भीड नियन्त्रण तालिममा नाम मनोनयन हुँदा टाउको दुखाउने काम महिला प्रहरीले गर्न नहुने उनले बताए ।
युएन मिसन र विदेश तालिममा जाँदा खुसी हुने तर, अप्ठेरो तालिम गर्न महिलाहरू तयार नहुने प्रवृत्ति रहेको उनको भनाइ छ । आईजीपी थापाले भने, ‘सम्मेलनको आयोजना गरेर हामीले तपाईँहरूलाई दर्बिलो बनाउन खोजेका हौँ, सम्मेलनको उद्देश्य त्यो पनि हो ।’
पितृसत्तात्मक सोच हटाउन श्रीमती बसेको पोस्टिङमा श्रीमान जाने वातावरण बनाउनुपर्ने थापाले बताए । उनले भने, ‘रामेछापको धोवीमा श्रीमती कार्यरत भएको अवस्थामा उनको श्रीमान धोवीमा जाने वातावरण अब बन्नुपर्छ ।’
सुगम ठाउँमा श्रीमतीको सरुवा भएपछि श्रीमानहरू दम्पती सँगै बस्ने नीति पछ्याउँदै सुगममा जान खोज्ने प्रवृत्ति निरुत्साहित गरिने थापाले बताए । उनले भने, ‘तपाईँहरूको क्षमता अभिवृत्ति गर्ने काम सङ्गठनले गर्नेछ ।’









































