पाल्पा । पाल्पामा झण्डै तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एक जना सहकारी व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।
सहकारी संस्थाका व्यवस्थापक बमरेलले झण्डै तीन करोड रकम हिनामिना गरेको आरोप लागेको छ । पाल्पाका प्रहरी प्रमुख पवनकुमार भट्टराईले बमरेल सहकारी सम्बन्धी मुद्दामा पक्राउ परेको र थप अनुसन्धान भइरहेको बताए ।
बमरेलले रकम हिनामिना गरेको हल्ला भएपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन् । रम्भा गाउँपालिकाको वडा नं। ४ मा मुख्य कार्यालय भए पनि यस सहकारीमा रम्भा गाउँपालिकासँगै पाल्पाका माथा गढी, पुर्वखोला र बगनासकाली गाउँपालिकाका नागरिकले बचत गरेका छन् ।
पाल्पाका विभिन्न स्थानका करिब एक हजार बचतकर्ताले यस सहकारीमा बचत गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले सहकारी ठगी सम्बन्धी कसुरमा यही साउन २७ गते बाट ७ दिनको म्याद लिएर अनुसन्धान जारी रहेको प्रहरी प्रमुख भट्टराईले बताए ।
बमरेल माथि सहकारीको दुई करोड ८७ लाख ५७ हजार ७ सय चालिस रुपैयाँ अठार पैसा हिनामिना गरेको आरोप लागेको छ । बमरेलले सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यहरूले बचत गरेको रकम गैर कानुनी तवरबाट आफ्नो व्यक्तिगत प्रयोजनमा खर्च गरी सहकारी ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो ।
फर्जी ऋणी तयार पारि रकम हिनामिना गरेको आरोपमा उजुरी दिइएको सहकारी सञ्चालक समितिका अध्यक्ष सुवी विकले बताए । बम्रेललाई रम्भा–४, हुमिनस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीले पाल्पाको चार वटा गाउँपालिकामा बचत तथा ऋण लगानीको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष विकले बताए ।
बचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैङ्कको एक करोड रकम फिर्ता गर्न बाँकी भएको सहकारीले जनाएको छ । बचतकर्ताहरू बचत रकम हिनामिना भएपछि दैनिक रूपमा सहकारीको कार्यालय घेर्न जाने गरेका छन् । सहकारीका करिब एक हजार बचतकर्ताहरू बिचल्लीमा परेका छन् ।









































