काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओलीलाई आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभए अब चुप नबस्ने चेतावनी दिएका छन्।
मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेसम्म सरकारले सहमति कार्यान्वयन नगरेको बताए।
उनले भने, ‘हामीसँग भएको तीन बुँदेको कुरा छ, हामी चुनावमा पनि जाने नै हो। लड्ने नै हो, जनतालाई हामी भन्छौँ एक पटक हामीलाई जिताउनु हामीलाई नै जिताउनुपर्छ। नेपाल कसरी चलाउनुपर्छ हामी देखाइदिन्छौँ। हामी उस्तै होइनौँ। दलालहरूको ठाउँमा जनताको राज कस्तो हुन्छ हामी देखाउँछौँ नि। यो देशमा लुटेर खाने होइन गरेर कसरी खाने देखाउने चाहना छ। हामीले नै गर्ने हो, तीन बुँदे लागू गर्नुस् केपीजी। लागू गर्नु भएन भने तपाईँले सोचेजस्तो हुनेवाला छैन।’
उनले कम्युनिस्ट आन्दोलनमा धेरै समीक्षासहित यहाँ आइपुगेको बताए। उनले एमाले राम्रो भइदिएको भए आफूहरूले ०५२ सालमा त्यो कदम चाल्नु नै नपर्ने बताए।









































