काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको बेला केही नेतालाई देउता आउने समस्या रहेको प्रसंग उठेपछि हाँसो छाएको छ ।
केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बैठकमा बोल्ने क्रममा महाधिवेशन आएपछि माथिका नेताबाट तलका कार्यकर्ता र जनतामाथि धोका हुने गरेको समेत बताए ।
सुनुवारले गाउँघरतिर चाडबाड आयो कि देउता आएर धामी काम्ने गरेका प्रसंग निकाल्दै एमालेमा पनि महाधिवेशन आएपछि त्यस्तो समस्या देखिने गरेको बताए । उनले देउता आउने नेताहरुबाट जनता र कार्यकर्ता तर्सिनुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए ।
पार्टीमा अघिपछि चुपचाप नेतृत्वलाई साथ दिएका केही नेताले महाधिवेशनको बेला बखेडा झिकेर जनता र कार्यकर्तालाई त्रसित बनाउने गरेको उनको आरोप छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न सुझाव दिने नेताहरुमाथि उनले लक्षित गरेका हुन् ।
अर्को प्रसंगमा सुनुवारले राष्ट्रपति भइसकेको व्यक्तिलाई उच्च सम्मानमा राख्न पार्टीले वातावरण बनाउनुपर्ने भन्दै राजनीतिमा फर्किने कुरा उचित नहुने बताए । उनले देशको संवैधानिक र प्रशासनिक ढाँच अनुसार नै एमालेको सांगठानिक ढाँचा हुनुपर्ने सुझाव दिए ।









































