काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिम भागबाट दक्षिणतिर सरेकाले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरुमा केही दिनसम्म ठूलो वर्षा र लगातारको झरी नहुने मौसमविदले बताएका छन् । गण्डकी प्रदेशदेखि पूर्वी भूभागमा भने अझै पनि भारी वर्षाको सम्भावना कायमै छ ।
‘मनसुन अवधि कायमै रहेकाले पानी त पर्छ, तर भारी वर्षा र लगातारको झरीको सम्भावना पश्चिम भूभागमा दुई–तीन दिनका लागि टरेको छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले भने, ‘मनसुन अवधि चार महिनासम्म भएकाले फेरि पनि एक्टिभ हुन सक्छ ।’
मनसुनी न्युन चापीय रेखा जुन भूभागको माथि पर्छ, त्यहाँ भारी वर्षा हुने मौसमविद बताउँछन् । साउन ४ गतेदेखि नेपालको ठीक माथि मनसुनी न्युन चापीय रेखा पर्दा केही दिन देशभर लगातार भारी वर्षा भएको थियो । निम्न चापीय रेखा हाल पश्चिमी भुभागबाट दक्षिणतर्फ सर्दै गए पनि नेपालको पूर्वी भूभागको नजिक कायमै छ ।
त्यसैले, गण्डकी प्रदेशदेखि पूर्वी नेपालका भूभागहरुमा भने अझै केही दिन भारी वर्षाको सम्भावना कायमै छ । मौसमविद पौडेलले भने, ‘गण्डकी प्रदेशदेखि पूर्व अझै पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ, विशेषगरी तराईका क्षेत्रहरुमा ।’
प्रदेश ५ का एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनमा उल्लेख छ ।
कर्णाली र सुदूरपश्चिममा अहिले बादल लागिरहेको छ । घाम लाग्ने, बादल लाग्ने भइरहन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेष गरी विहान र बेलुकाको समयमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।
यी जिल्लामा भइरहेको छ मध्यम वर्षा
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहीबार बिहान आठ बजे गरेको अपडेटअनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ ।
केन्द्रले उक्त स्थानका साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएकाले सतर्क रहन आग्रह गरेको छ ।
तीन दिनसम्म नारायणीमा बहाव बढ्ने
यसैगरी आगामी तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान पनि गरिएको छ । देशका अन्य सबै प्रमुख र मझौला नदीहरुमा बहाव केही घटबढ हुने छ भने जलसतह सतर्कताभन्दा तलै हुनेछ ।
बिहीबार र शुक्रबार भने कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।