काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग राख्दै विपक्षी दलले अवरोध जारी राखेपछि आज पनि सदन बस्ने नबस्ने टुंगो छैन। आज दिउँसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ।
त्यसपछि थप रणनीति बनाउनको लागि विपक्षी दलको बैठक अहिले बसिरहेको छ। विपक्षीले गृहमन्त्रीले राजीनामा नदिए छानबिन समितिको प्रतिबद्धतासहित आएर सदनमा बोल्न दिनसक्ने बताएका छन्। तर, सत्तापक्षको अडान छ, ‘न गृहमन्त्रीको राजीनामा आउँछ, न छानबिन समिति बन्छ।’
दुवै दलले अडान नछाडेपछि कांग्रेसले विपक्षी सबै दलसँग छलफल गर्दैछ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा यस अघि पनि रास्वपासँग बेग्लै छलफल गरेको थियो।
आज पनि विपक्षीको बैठक लगत्तै कांग्रेससँग केहीबेरमै छलफल हुने रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले बताए।
कांग्रेससँग छलफलमा रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र सन्तोष परियार जाने छन्। यद्यपि सदन खुलाउन वार्ता सकारात्मक बन्दै गइरहेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन्।
सदनको अवरोध हटाउन प्रचण्डले शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लै छलफल गरेपनि सहमति जुट्न सकेन।







































