काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरी अघि बढाउन आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता सम्बन्धी समाधानका लागि संशोधन विधेयक महत्त्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन् ।
कानूनी समस्याका कारण धेरै युवाहरू नागरिकताविहीन हुनुपरेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरी विधेयक ल्याएको उनले बताए ।
उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थप सहजता प्रदान गर्ने, विदेशमा जन्मेका बाबुको नाम नखुलेको स्थितिलाई सम्बोधन गरिने जिकिर गरे ।
त्यस्तै उनले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए ।
समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनबाटै विधेयक पारित गर्ने गरी छलफल भइरहेको बताए । अर्को बैठकमा गैरआवासीय नेपालीसँग छलफल गरिने जानकारी दिए ।






































