काठमाडौं । काठमाडौंको परोपकारको पुलमुनि एक पुरुषको हत्या भएको छ । हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी वडा नं।७ घर भइ हाल डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको छ।
श्रेष्ठले काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नं. १०, स्थायी घर भएका ४२ वर्षीय माईला भन्ने बिक्रम तामाङको हत्या गरेका हुन् । तामाङ मंगलबार परोपकार पुलमुनी मध्यान्न साढे ११ बजे धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उनको सोही दिन साढे १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा श्रेष्ठले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको खुलेको हो ।
प्रहरीले श्रेष्ठको साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल १ थान, घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता र कपडाको माक्स १ थान बरामद गरेको थियो ।
उनलाई बुधबारडल्लुबाट पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा आबश्यक कारवाहीको लागि प्रहरी वृत जनसेवा पठाइएको छ । व्यक्तिगत रिसिइबीको कारण हत्या भएको प्रारम्भिव बयानबाट खुलेको एसपी अंगुर जिसीले जानकारी दिए । गाली गलौज गरेको निहुँमा हत्या गरेर भागेको बयान दिएका थिए ।









































