काठमाडौँ । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ सुरु भएको हो ।
जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गर्दै वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । यस्तै दुई जनालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ सजाय गरिएकोमा ८ जनाले भने सफाइ पाएका थिए ।
जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए ।
जाजरकोटको भेरी नगरपालिका ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरु प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।









































