सत्ताधारी नेकपाभित्र विवाद चर्किएको बेला पूर्वमाओवादी नेता एवम् मन्त्री लेखराज भट्टले प्रचण्डसँगको सम्बन्ध र अहिले प्रधानमन्त्रीलाई साथ दिनुको कारण खुलस्त पारेका छन्।
नेकपा स्थायी समितिका सदस्य एवम् मन्त्री लेखराज भट्टले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन नहुने आफ्नो अडान रहेको बताएका छन्।
गत वैशाखमा नेकपाभित्र चित्र चर्किएको विवादका बेला बालुवाटार पुगेर प्रधानमन्त्री परिवर्तनको विपक्षमा रहेको धारणा राखेका उनी त्यसयता मौन थिए।
उनी प्रधानमन्त्री निकट रहेको समाचारहरू आइरहँदा अन्तिममा आफूलाई साथ दिनेमा प्रचण्ड पक्ष आशावादी देखिन्थ्यो।
पछिल्लो विवादमा चुपचाप देखिएका उनले बीबीसीसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीलाई हटाइयो भने मुलुकमा अस्थिरता उत्पन्न हुन्छ, त्यसैले मेरो साथ प्रधानमन्त्रीलाई छ।”उनले भने, “पार्टी महाधिवेशन नहुँदसम्म एकजना हस्ताक्षरकर्ता (अध्यक्ष) नरहे त एकता भङ्ग भइहाल्यो नि।”
खुमलटार नजानुको कारण
पछिल्ला दिनहरूमा अध्यक्ष प्रचण्डले ललितपुरको खुमलटारस्थित आफ्नो निवास पार्टीका नेताहरूसँग पटक पटक परामर्श गर्ने गरेका छन्।
उनले सोमवार पूर्व माओवादी नेताहरूलाई मात्रै बोलाएर छलफल पनि गरे। त्यस्तै कुनै पनि छलफलमा स्थायी समिति सदस्य भट्ट जाँदैनन्।
आफ्नो तर्क राख्न पनि प्रचण्ड निवासमा हुने छलफलमा किन नगएको छ?
प्रचण्डसँग भेटघाट भइरहेको बताउँदै भट्ट भन्छन्, “२०३७ सालदेखि हाम्रो सहकार्य छ, उहाँले मलाई, मैले उहाँलाई बुझेको। खुमलटार नै गएर भने मात्रै उहाँले बुझ्ने नत्र नबुझ्ने भन्ने मलाई लाग्दैन।”
भट्टका भनाइमा उनले आफ्नो विचार धेरै पटक भनिसकेका छन् र उनका बारेमा ‘प्रचण्ड स्पष्ट छन्, कुनै भ्रम छैन’।
प्रचण्डकै विचार अङ्गालेर एकतामा आएको र त्योभन्दा बाहिर नगएको उनको भनाइ छ।
‘पदको विवाद’
भट्टले भने, “केपी ओलीकै नेतृत्वमा चुनाव लडेको हो, अहिले आफैले बनाएको प्रधानमन्त्रीलाई राजीनामा दे भन्न कति उपयुक्त हुन्छ भन्ने प्रचण्डकै लाइन हो, मेरो होइन।”
नेता भट्टका विचारमा नेकपामा अहिले देखिएको विवाद विचार, राजनीति र सङ्गठनको नभइ पद लेनदेनको मात्र हो।
उनी भन्छन्, “एउटै कुरा प्रधानमन्त्रीलाई हटाउनु पर्छ भन्ने मात्रै छ, किन हटाउने भन्ने नै छैन। खुद्रा कुरा गरेर त हुन्न नि।”
विगतका केन्द्रीय समिति लगायतका बैठकका दस्तावेजहरूमा सरकारका सकारात्मक कुराहरू लेखिएको बताउँदै उनले लगत्तै प्रधानमन्त्री हटाउनु पर्ने भए कारण खुलाउनु पर्ने बताए।
उनको प्रश्न छ, “त्यसो भए लिम्पियाधुरा नक्सामा ल्याउनु र संविधानको अनुसूची संशोधन गर्न हुन्थेन भन्नुपर्यो। कूटनीतिक नोट भारतलाई पठाउनु गलत थियो भन्नुपर्यो।”
भट्टले सुनाएको भैँसीको कथा
नेकपा विभाजनको सङ्घारमा पुगेको देखिएका बेला पूर्वएमालेमा धेरै विग्रह देखिए पनि नेतृत्व तहमा पूर्वमाओवादी एक जस्तै देखिन्थ्यो।
पूर्वमाओवादीका अन्य नेताले समेत ओलीलाई साथ दिने बुझिए पनि भट्ट खुला रूपमा आएका छन्।
उनी भन्छन्, “त्यस्तो अवस्थामा पुरानो पार्टी भत्काइसकेपछि पनि पूर्व भनेर हुन्छ। भत्काएर एकता गर्ने अनि पूर्व र पश्चिम खोजेर हुन्छ? ”
त्यस प्रसङ्गमा उनले आफ्नो आमाले भैँसी पालेको कथा पनि सुनाए।
बिहानै गोठबाट भैँसी निकालेर आमाले आँगन नजिक बाध्ने र दिन ढल्किएपछि फेरि गोठमा सार्ने गरेको विगत स्मरण गर्दै उनले भने, “त्यस्तो त होइन नि हामी कसैको। पार्टीका कार्यकर्ता वा जनता कसैलाई पनि गोठको भैँसी बनाउनु भएन।”
‘ओली-प्रचण्डको विकल्प आउन सक्छ’
उनले ‘मूल रूपमा दुईजना अध्यक्षले एकताको निम्ति जोखिम उठाएको ठम्याइ’ सुनाउँदै ‘पार्टी एकता जोगाउने मूल जिम्मेवारी पनि उनीहरूमै रहेको’ बताए।
दुईजना अध्यक्षले ‘विवेक प्रयोग गरेर आफ्ना विचार बैठकमा राखेर राय माग्नुपर्ने’ उनको सुझाव छ।
उनी भन्छन्, “मैले के पाएँ, के पाइनँ भनेर सोच्ने हो भने पार्टी बन्दैन। बिगार्ने पनि मूल नेतृत्वले हो र सम्हाल्ने पनि मूल नेतृत्वले नै हो।”
कतिपयले आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने सुनिश्चितता प्रचण्डले खोजेको पनि ठानेका छन्।
त्यसको निम्ति पनि दुई अध्यक्ष मिल्न अनिवार्य रहेको उनको भनाइ छ।
उनी भन्छन्, “दुवै मिलेनन् भने त अर्को दावेदार भइहाल्छ।”
‘एउटा औषधीले काम नगरेपछि डाक्टरले अर्को औषधी चलाए जस्तै पार्टीमा पनि विकल्पको खोजी हुनसक्ने’ उनको ठम्याइ छ।
“र, त्यो विकल्प दोस्रो पुस्ताबाट मात्र नभइ तेस्रो पुस्ताबाट पनि आउन सक्छ”, कुराकानी टुङ्ग्याउँदै भट्टले सुनाए।