काठमाडौं । सरकारले झन्डै चार महिनापछि जारी लकडाउनलाई मंगलवार मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयका विज्ञ टोली असन्तुष्ट भएका छन ।
सरकारको उक्त निर्णयप्रति स्वास्थ्य मन्त्रालयका विज्ञ टोली नै असन्तुष्ट रहेका छन्। विज्ञ टोलीका एक सदस्यले नेपाली जनतासँग भने,’हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन। कम्तीमा दुई-दुई हप्ताको अवस्थाको विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो।’
उनले सबैले आ-आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए। उनी भन्छन्, ‘पर्यटन व्यवसायी, उद्योगी सबैले आ-आफ्नो स्वार्थ राखे। त्यसैले पनि सरकारलाई एकैचोटी लकडाउन अन्त्य गर्न दबाब भयो।’
सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ‘सिसिएमसी’ को सिफारिसमा गरेको हो। सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन।
हामीले त अहिले एकैचोटी सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं। मोटरसाइकल पनि केही समयको लागि जोरबिजोर प्रणाली यथावत राखौं भनेको होु’उनले भने, ‘तर यहाँ सबैको आ(आफ्नो स्वार्थले गर्दा यो कायम रहन सकेन। हामीले कम्तिमा साउनको २० गतेसम्म अहिलेको स्थितिलाई यथावत राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं।’
सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ। अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भएपनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन्।
लकडाउन एकै पटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। ुकाठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन।
कति मानिस लुकिछिपी प्रवेश गरेका छन्’, विज्ञ समुहका एक सदस्यले भने, ‘कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो। त्यस्ता व्यक्तिको परीक्षण भएको छैन। त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ।’ यदि संक्रमण बढेमा त्यसको जिम्मेवारी कसले लिने हो त्यो समेत अन्यौल छ । अ्रन्य देशमा पनि लकडाउन हटाएपछि संक्रमण बढेको अवस्था सबैमा जगजाहेर छ तर, पनि विज्ञहरुको सुझाव नसुनिकन लकडाउन अन्त गरिएको छ ।