काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यहरूले मंगलबार जारी बैठकमा सिमेन्ट उद्योगीले दिएको धम्की फिर्ता लिन माग गरेका छन् ।
समितिको मंगलबारको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान ध्रुव थापाले ‘हामीलाई यहाँ पटक–पटक किन बोलाइन्छ ? हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने हामी आउँदैनौं’ भनेका थिए ।
उद्योगी थापाले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै समिति सदस्यहरूले आपत्ति जनाएका हुन् । संसदीय समितिमा यस्तो भाषा प्रयोग गर्न नपाइने उनीहरूको भनाइ छ ।
‘उद्योगीहरूले धम्की फिर्ता नलिने भए हामी समितिको बैठकमा बस्दैनौं,’ समिति सदस्य सूर्यमान तामाङ दोङले भने, ‘धम्की खानका लागि हामीले तपाईंलाई यहाँ बोलाएको होइन, विषय अलि गम्भीर भयो । तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ। यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो ।’
सदस्य दोङले त्यही स्थितिमा हो भने समितिले पनि उद्योगीले यति ठग्यो भन्नुपर्ने अवस्था आउने बताए । ‘तर, हामी त्यसो भन्दैनौं । तपाईंहरूको धम्की आपत्तिजनक छ । आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनु भएको छ । यो मान्य छैन,’ उनले भने ।
त्यसैगरी समिति सदस्य रमा कोइराला पौडेलले ‘यो बैठक सभापतिले बोलाउनु भएको हो कि व्यवसायीले बोलाएको हो ?’ भन्ने प्रश्न गरिन् ।
‘सिमेन्ट उत्पादकका कुरा मान्य छैन । धम्की मान्य छैन । अहिले लोडसेडिङ छ कि तपाईंले सस्तो दिँदा थियो कि अहिले धेरै छ ? बेमौसममा सिमेन्टको मूल्य बढाउँदा राष्ट्रको बजेटमै समस्या परेको छ,’ उनले भनिन्, ‘जहाँ प्रधानमन्त्रीलाई बोलाउँदा त आउनुपर्छ भने तपाईं आउँदिनँ भन्न पाउनु हुन्न । यहाँ हामीले सौहार्द्धपूर्ण तावरणमा बोलाएको हो । राज्यले निजी क्षेत्रलाई पुल्पुल्याएको रहेछ । नत्र, उहाँहरूले धम्काउन सक्नुहुन्थेन ।’
सदस्य पौडेलले सिमेन्टको भाउ बढ्नु राम्रो नभएकाले मिलान गर्नेबारे सोच्न उद्योगमन्त्रीसँग आग्रह गरिन् । ‘सिमेन्टले परेको प्रभावबारे उजुरीका चाङ छन् । अब खोल्छौं, अनि कसरी नआउनु हुँदोरहेछ हामी पनि हेर्छौं,’ उनले भनिन्, ‘कति घटाउन सकिन्छ मन्त्रीले विचार गर्नुपर्छ ।’
सिमेन्टको भाउ अस्वाभाविक बढाइँदा पनि सरकार मूकदर्शक भएको निर्माण व्यवसायीको आरोप
त्यसैगरी अर्का सदस्य लक्ष्मी महतो कोइरीले सिमेन्ट उद्योगीमा अहंकार धेरै भएको प्रतिक्रिया जनाइन् । ‘सिमेन्ट उद्योगपतिजी म पनि इँटा भट्टा चलाएर आएको हो । तपाईंलाई पाठ सिक्ने मौका आयो,’ उनले भनिन्, ‘मन्त्रीको आडमा तपाईंहरू यस्तो हुनु भएको हो कि के हो ? तपाईंले पहिला आफ्नो भाषा सुधार्नुस् ।’
समितिका अर्का सदस्य अमृतादेवि अग्रहरिले भने उद्योग मन्त्रालयले दोषीको भूमिका खेलिरहेको आरोप लगाइन् ।
‘मन्त्रालयले नभनी उद्योगीले त्यसै सिमेन्टको भाउ बढाउन सक्छन् ? उद्योगीले के गलत भनेको छन् भने डिजेल हालेर मेसिन चलाएर सिमेन्टको भाउ बढाउनुपर्यो भन्न पाइँदैन,’ उनले भनिन्, ‘आमजनतालाई ठग्न पाइँदैन, यो गलत हो । यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्छ । तपाईंहरूलाई कारबाही गर्ने काम मन्त्रालयले गर्छ ।’
त्यस्तै सदस्य लालप्रसाद साँवा लिम्बूले ‘साउनयता सिमेन्ट कारखानामा कच्चापदार्थको मूल्य कति छ ? बैंकको ब्याज कति भयो ? डिजेल पेट्रोल के भयो ? कामदारलाई कति दिनुभयो ? सरकारले यो बीचमा कति कर बढायो ?’ भन्नेबारे सरकारले अध्ययन गर्नुपर्ने बताए । ‘नभए कसरी सिमेन्टको मूल्य बढ्यो ?,’ उनले प्रश्न गरे ।
अर्का सदस्य रेखा यादवले मूल्यवृद्धि हुँदा सरकार किन मौन बसेको भन्दै प्रश्न गरिन् । ‘यो मौनता कतै मिलोमतो त होइन ?,’ उनले भनिन्, ‘उपभोक्ता मार्न कसैले पनि पाउँदैन ।’









































