वि.सं.२०८१ चैत ३ आइतवार

पाकिस्तान रेल हाइज्याक : २७ जना अतिवादी मारिएको दाबी, कति यात्रुको भयो उद्धार ?

इस्लामावाद । पाकिस्तानका बलूचिस्तान प्रान्तमा रेल हाइज्याक भएपछि यात्रीहरूको उद्धार अभियान जारी छ । अहिलेसम्म १५५ जनाको उद्धार गरिएको छ भने कारबाहीमा २७ जना अतिवादी मारिएको पाकिस्तानका सुरक्षा स्रोतहरूले बीबीसी उर्दूलाई बताएका हुन् ।

रेल हाइज्याक गर्नेहरू अफगानिस्तानमा यसको योजनाकारहरूसँग सम्पर्कमा रहेको दाबी पनि सुरक्षा स्रोतहरूले गरेका छन् । रेलमा भएको आक्रमणको जिम्मेवारी पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले लिएको छ ।

यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो । रेलवे अधिकारीहरूका अनुसार रेलमा नौ वटा कोच थिए र त्यसमा ४०० भन्दा बढी यात्रु थिए ।

रेलमा सवार धेरै यात्रुहरूलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले बताएका छन् । मंगलबार सशस्त्र अतिवादीहरूले यात्रुले भरिएको रेल हाइज्याक गरेर यात्रुहरूलाई बन्धक बनाएका थिए ।