वि.सं.२०८१ चैत ३ आइतवार

संसदमा ‘राजा’ सम्बोधन नगर्न सभामुखले रुलिङ गर्नुपर्ने सूर्य थापाले गरे माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले संसदभित्र ‘राजा’ सम्वोधन नगर्न सभामुखबाट रुलिङको माग गरेका छन् । आज संसद बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनको माग गर्नेहरुलाई पटमुर्खको संज्ञा दिए ।

थापाले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि नारायणहिटी फर्किने सपना नदेख्न आग्रह गरे । केही असन्तुष्ट र भड्किएका आत्माले हुइया मच्चाउँदैमा राजा नफर्किने उनको टिप्पणी छ ।

‘राजाको छोरा राजा हुने दिन गए, अब सम्झिने पानी छम्किने हो’, उनले भने ।

थापाको सम्बोधनका केही अंशः

केही दिनयता शहरमा ठूलै कोलाहाल र होहल्ला सुनिरहेको छु । राजनीतिक नेतृत्वलाई उमेरका आधारमा पुराना भन्दै बदनाम गर्नेहरुले ७८ वर्षे वृद्ध नागरिकलाई डोमेस्टिक टर्मिनलबाट काठमाडौं आउँदा स्वागत र्याली गर्दै राजा ल्याउने हल्ला गरेको देखियो । केही असन्तुष्ट र भड्किएका आत्माले हुइया मच्चाउँदैमा राजा फर्किँदैनन् ।

पूर्वराजाको स्वदेशभित्रको पर्यटन र घुमफिरलाई ‘राजा आउने’ भन्दै भ्रमको खेति गर्नेहरु सिंगो दुनियाँका सबैभन्दा पटमुर्ख रहेको तथ्य म सम्मानित सभासमक्ष अवगत गराउन चाहन्छु ।

नेपाल आज जहाँ छ, त्यसमा गणतन्त्रको १६ वर्ष जिम्मेवार छ कि राजतन्त्रको लुटखसोटको २४० वर्ष ? प्रचण्डको २० महिनाको कुशासन कति जिम्मेवार छ ? कि ८ महिनाअघि बनेको कांग्रेस–एमालेको बलियो सरकार मात्र जिम्मेवार रह्यो ?

मुलुकमा भ्रम र भ्रान्तिको कुहिरो सिर्जना गरेर आआफ्नो स्वार्थको रोटी सेक्न चाहनेहरुले ताहुरमाहुर गरेको देख्न सकिन्छ । तर, जनताको आकांक्षा र जनमत यो होइन र हुनै सक्दैन ।

पूर्वराजाको पुनः राजा बन्ने र शासन गर्ने सपना एउटा नागरिकको इच्छा हुनसक्छ । तर, मुखियाको छोरा मुखिया, जिम्वालको छोरा जिम्बाल झैं, राजाको छोरा राजा हुने ती दिन गए । त्यो त सम्झिने पानी छम्किने हो ।

त्योभन्दा बढी केही अर्थ छैन । नारायणहिटीबाट बास मागेर नागार्जुन पुगेका नेताले पुन राजा हुने इच्छा राख्नु जनताको आधुनिक चेतना र युगानुकुल छैन । ज्ञानेन्द्र शाहले बक्सिस र हुकुममा हामीलाई लोकतन्त्र दिएको जस्तो कुरा नगर्नुस् । उनले स्वेच्छाले राजगद्दी छोडेर नागार्जुन गएका होइनन् ।

संविधानसभाको पहिलो वैठकले निर्णय गरिसकेपछि जनक्रान्तिको मारमा परेर सुरक्षित आवासको माग गरेर गएका हुन् । यो कुराको ग्यारेन्टी सरकारले गरेको हो ।

ज्ञानेन्द्र शाह आएको कहाँबाट भन्दा पोखराबाट । यो स्वागतबाट के सन्देश दिन खोजेको हो ? १६ वर्षदेखि एक नागरिकका रुपमा जिविका चलाइरहेका ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, तपाईं जुनसुकै कारणले भए पनि राजा हुनुभयो, तर नेपाल र नेपाली जनताको इच्छा–चाहना र युगको स्पन्दन बुझ्ने चेष्टासम्म गर्नुभएन ।

अहिले आफ्नो कारणले नागरिक हुनु परेको छ । यो राजा बन्ने सपना देखेर राजा हुने जमाना होइन । सपना किमार्थ पूरा हुन सक्दैन । नेपालमा फेरि राणातन्त्र फर्किँदैन । पञ्चायति कालरात्री फर्किँदैन । वंशानुगत नक्कली राजतन्त्र फर्किँदैन । दाह्रा नंग्रा झिकेर किनारामा फालिएका पुूर्वाराजा नेपालको कालातित इतिहास हो ।

कतिपय साथीहरु विलखबन्दमा परेर भौतारिएको देख्छु । म उनीहरुलाई भन्न चाहन्छु नारायणहिटी पुग्नेहरु राजा बन्दैनन् । नारायणहिटीमा राजा बस्ने व्यवस्था छैन । नारायणहिटी संग्रहालय टिकट काटेर जान पाइन्छ । नागार्जुनवासी नागरिकलाई वृद्ध आमालाई भेट्ने र हेरविचार गर्ने व्यवस्था मिलाइएको छ ।

म संसदमा पनि भन्न चाहन्छु, त्यस चेयरबाट, सभामुखको चेयरबाट, यहाँ राजा… राजा… सम्बोधन गरिरहँदा पनि संविधान, कानून बमोजिमको रुलिङ नगर्ने स्थितिको अन्त्य होस् । संविधान-कानून र नियमावलीको भाषा प्रयोगमा ध्यान दिइयोस । नियमावलीअनुसार सम्वोधन गर्न रुलिङ होस् ।