वि.सं.२०८१ चैत ३ आइतवार

मध्यपश्चिम विश्वविद्यालयका साढे ३ हजार विद्यार्थी दीक्षित, प्रधानमन्त्री ओलीद्वारा शुभकामना

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका साढे ३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

शुक्रबार वीरेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमाआयाेजित दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायका ३ हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा सम्पन्न दीक्षान्त समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिकशास्त्रसहित विभिन्न सङ्कायका विद्यार्थीहरू दीक्षित भएका छन्।

स्नातक तहमा २ हजार १८९, स्नातकोत्तर तहमा १ हजार ६३३ तथा व्यवस्थापन सङ्काय अन्तर्गत दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थीले दीक्षान्त ग्रहण गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धि र मानवतावादलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले भने,’सबैभन्दा ठूलो वाद भनेको मानवतावाद हो। समाजलाई अगाडि बढाउन जनताका लागि काम गर्नुपर्छ।’ साथै, जलवायु परिवर्तन, वातावरण संरक्षण, शिक्षा र आम्दानीका विषयमा विद्यार्थीहरूले गहिरो रुपमा बुझ्नु पर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले कर्णाली क्षेत्रको ऐतिहासिक र प्राकृतिक सम्पदालाई उपयोग गर्नुपर्ने बताए।

‘कर्णालीका मानिसहरूले महाभारतको युद्धमा समेत विजय हासिल गरेका थिए,’उनले भने । कर्णालीलाई दुर्गम मात्र नभई प्राकृतिक स्रोत र जडीबुटीको खानी भएको क्षेत्रका रूपमा चिनाउँदै अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।

स्नातक तहका विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सफलताको आधार इमानदारी र निरन्तर प्रयास भएको बताए। ‘हामी सफल भइन्छ पछाडि फर्कनु हुँदैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’उनले भने।

समारोहमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा. डा. महेन्द्र पि. लामा प्रमुख अतिथि रहेका थिए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवम् संस्थाहरूसँगको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।