वि.सं.२०८१ चैत ११ सोमवार

आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा क्षति छैन : मन्त्री यादव

आगलागीबाट करिब ५० लाखसम्म क्षतिको अनुमान

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको स्पष्ट पारेका छन् ।

आगलागीको खबर पाएपश्चात तत्काल मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गरेका थिए ।

निरीक्षणपश्चात सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको बताए ।

‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिवज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजातबाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन,’ उनले भने ।

विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज आगलागी भयो ।’

शनिबार बिहान करिब ८ बजेर ४० मिनेटमा भएको उक्त आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट करिब ५० लाखसम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले ९ बजेर १५ मिनेटमा आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।