काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलामा रहेका खानेपानी मन्त्री प्रदिप यादवको कार्यकक्ष जलेर पुरै नष्ट भएको छ ।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।
चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्ष, मन्त्रीको गोप्य कोठामा मात्र आगलागि भएको छ । खानेपानी मन्त्रालयका एक अधिकारीका अनुसार, मन्त्रीको कार्यकक्षमा भएका फनिचर, कम्प्युटर, पिन्टर, सिसिक्यामारा जलेका छन । मन्त्रीको कार्यकक्षमा महत्वपुर्ण कुनै काजगपत्र नभएको पनि मन्त्रालय स्रोतले दावी गरेको छ ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।