वि.सं.२०८१ फागुन १ बिहीवार

वैदेशिक रोजगार व्यवसायीको साधारण सभामा प्रधानमन्त्रीलाई निम्तो, यी हुन् नयाँ नेतृत्वका दाबेदार

काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि फागुन २ गते ३० औं र ३१ औं साधारणसभा बोलाइएको छ । सोही साधारण सभाले नेतृत्व चयन गर्नेछ ।

संघको कार्य समितिले टंक राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको र माघ २५ गतेभित्र मतदाताको अन्तिम सूची बुझाएपछि समितिले काम थाल्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । त्यस्तै, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघको साधारणसभामा प्रमुख अतिथिको आमन्त्रण गरिएको पनि भण्डारीले बताए ।

संघको नयाँ नेतृत्वका लागि दलीय प्रतिस्पर्धा हुने देखिएको छ । एमालेनिकट प्रगतिशील रोजगार व्यवसायी संघको तर्फबाट नरेश गेलाल अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । महासचिव उम्मेदवार जनक रावलको नाम आएको छ ।

त्यस्तै कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट अध्यक्षमा भुवन सिंह गुरुङ उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक समूहबाटै वर्तमान महासचिव मेघनाथ भुर्तेलले समेत अध्यक्षमा दाबी गरेका छन् ।

७५० भन्दा बढी मतदाता रहेको संघमा कांग्रेस पक्षको बाहुल्य रहेको छ । यसअघि कांग्रेसनिकटका २ उम्मेदवार भन्दा एमालेनिकटका राजेन्द्र भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी, नेकपा एसलाई समेत साथमा लिएर एमालेनिकट प्रगतिशील समूहले प्यानल बनाउने तयारी गरेको छ ।

Untitled