विराटनगर । संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ ।
गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ । बिहीबार पोखरेलको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।
एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका पोखरेलले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए ।
एबीबीबीएसमा छोरीको नाम ननिस्कीएपछि उनले पैसा फिर्ता मागे । पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालको दाबी छ ।
ठगी मुद्दामा मोरङ प्रहरीले सुरुमा अनुसन्धान गर्न मानेको थिएन । बौआलाले ऋषिकेश अध्यक्ष भएको बेला एमाले जिल्ला कमिटीमा पनि उजुरी गरेका थिए । उनको उजुरीको पार्टीले कुनै सुनुवाइ नै गरेन ।
२०७४ साल असार २५ गते आइतबारको मिति राखेर आफूलाई जबरजस्ती ऋण लिएको भनी कपाली तमसुक बनाएको उजुरी प्रहरीले नलिएपछि उनले १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए ।
गत ३१ भदौमा उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणीकरण भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ठगीको विवरण सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।
पोखरेलका स्वकीय सचिवमाथि ठगी मुद्दा छ । श्रीमतीविरुद्ध सहकारी रकम अपचलन आरोप छ । उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा फरार रहेकी अन्जला २४ पुसमा अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि १० लाख धरौटीमा छुटेकी थिइन् ।









































