वि.सं.२०८३ वैशाख १८ शुक्रवार

जिपले मोटरसाइकललाई ठक्कर दिँदा छोराको मृत्यु, घाइते आमा-बुवा

khanepani

दाङ । दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना बालकको मृत्यु भएको छ। उनका आमा-बुवा घाइते छन्।

यो घटना मंगलबार बेलुकीको हो। दुर्घटनामा परेर ८ वर्षका बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ८ वर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनका आमा पार्वती आचार्य र ३९ वर्षका बाबु सुदीप आचार्य घाइते छन्। उनीहरूको तुलसीपुर अस्पतालमा उपचार जारी छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार मोटरसाइकलमा सवार रहेका ८ वर्षका बालकको मृत्यु भएको हो। उनको टाउकोमा गहिरो चोट लागेको थियो।

उपचारका क्रममा उनको राप्ती प्रादेशिक अस्पतालमा मंगलबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ।

बबई गाउँपालिका वडा नम्बर ६ पञ्चकुलेको ओरालोमा सीतापुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे १ ज १००२ नम्बरको जिपले ठक्कर दिएको थियो।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ।

ranechhap